ताजा समाचार

जाडोमा आइएमई फाउन्डेसनको न्यानो साथ : डोल्पाका बालबालिकामा मुस्कान

विष्णुप्रसाद देवकोटा

डोल्पा ।

हिमाली जिल्ला डोल्पामा पुसको कठ्याङ्ग्रिँदो जाडोले जनजीवन कष्टकर बन्दै गएको बेला आइएमई ग्रुप (फाउन्डेसन) ले मानवीय संवेदनशीलता र सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गर्दै त्रिपुरासुन्दरी नगरपालिका–१ स्थित त्रिपुरा माध्यमिक विद्यालय, काटियाचौरका बालबालिकालाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरेको छ ।

आइएमई फाउन्डेसनको ‘न्यानो पहल’ कार्यक्रम अन्तर्गत जाडोबाट बचाउन १५० भन्दा बढी विद्यालय बालबालिकालाई ट्राउजरसहितका न्यानो कपडा तथा स्टेशनरी सामग्री वितरण गरिएको हो । वित्तीय क्षेत्रमा आफ्नै छुट्टै पहिचान बनाएको आइएमई ग्रुपले हरेक वर्ष सञ्चालन गर्दै आएको विद्यालय बालबालिका सहयोग कार्यक्रम अन्तर्गत यस वर्ष दुर्गम र पिछडिएको हिमाली जिल्ला डोल्पालाई प्राथमिकतामा राखेर सहयोग गरेको जनाएको छ ।

कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष देविकृष्ण उपाध्यायको अध्यक्षता तथा त्रिपुरासुन्दरी नगरपालिकाका नगरप्रमुख जनचन्द्र रोकायको प्रमुख आतिथ्यतामा विशेष समारोहका बीच सम्पन्न भएको थियो । यस अवसरमा विद्यालयका शिक्षक–शिक्षिकालाई समेत आइएमई लोगो अंकित टी–सर्ट वितरण गरिएको थियो ।

न्यानो कपडा वितरण कार्यक्रममा बोल्दै आइएमई ग्रुपका जनसम्पर्क तथा सूचना अधिकारी रविन्द्र पौडेलले डोल्पा जस्तो दुर्गम क्षेत्रमा राज्यका संयन्त्रसमेत सहजै पुग्न कठिन रहेको उल्लेख गर्दै, यस्ता भूगोल र समुदायलाई सहयोग गर्नुपर्छ भन्ने संस्थागत निर्णयअनुसार आफूहरू प्रतिनिधिका रूपमा विद्यालयमा उपस्थित भएको बताए । उनले हिमाली न्यानो घामझैँ विद्यालय परिवारले देखाएको सादगी, आत्मीय स्वागत र सम्मानले आफूलाई भावनात्मक रूपमा निकै न्यानो अनुभूति गराएको बताए ।

कार्यक्रममा बोल्दै नगरप्रमुख जनचन्द्र रोकायले जाडोलाई बेवास्ता गर्दै काठमाडौँबाट डोल्पा पुगेर विद्यालयका बालबालिकालाई न्यानो कपडा सहयोग गरेकोमा आइएमई फाउन्डेसनलाई धन्यवाद व्यक्त गरे । यस्ता सहयोगले बालबालिकामा विद्यालयप्रतिको आकर्षण बढ्नुका साथै शैक्षिक विकासमा सकारात्मक प्रभाव पर्ने उनको भनाइ थियो ।

विद्यालयका प्रधानाध्यापक तुलबहादुर विष्टले ७७ जिल्लामध्ये पनि दुर्गम मानिने डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ स्थित त्रिपुरा माविलाई माया र सहयोग प्रदान गरेकोमा आइएमई फाउन्डेसन ग्रुपप्रति विद्यालय परिवारको तर्फबाट हार्दिक आभार व्यक्त गरे ।

पुसको कठ्याङ्ग्रिँदो चिसोमा न्यानो कपडा र शैक्षिक सामग्री पाएपछि विद्यालय परिसर बालबालिकाको खुसीले उज्यालिएको थियो । न्यानो कपडासँगै उनीहरूको अनुहारमा देखिएको मुस्कानले हिमाली क्षेत्रमा गरिने यस्ता सहयोग कार्यक्रम केवल राहत मात्रै नभई शिक्षा, आत्मविश्वास र भविष्यप्रतिको आशा समेत भएको सन्देश दिएको छ ।

स्थानीयले आइएमई फाउन्डेसनजस्ता सहयोगी संस्थाको निरन्तर साथले दुर्गम विद्यालयहरूको शैक्षिक उन्नति सम्भव हुने विश्वास व्यक्त गरेका छन् । जाडो मौसममा सुरु भएको यो न्यानो पहलले भविष्यमा पनि डोल्पाका विद्यालय र बालबालिकाको जीवनमा उज्यालो थपिरहने अपेक्षा गरिएको छ ।
तपाईको प्रतिक्रिया