डाेल्पान्युज डेक्स
मुगु । मुगु जिल्लाका तीन स्थानीय तहमा भाइरल ज्वरो फैलिँदा हालसम्म पाँच जनाको मृत्यु भएको छ। छायाँनाथ रारा नगरपालिका–१२ मा मात्रै भाइरल ज्वरोका कारण पाँच जनाको ज्यान गएको सहायक प्रमुख जिल्ला अधिकारी विमलाकर मिश्रले जानकारी दिनुभयो।
मृत्यु हुनेमा तीन जना वृद्ध र दुई जना बालबालिका रहेका छन्। हालसम्म दुई स्थानमा भाइरल ज्वरो फैलिएको पुष्टि भएको र छायाँनाथ रारा नगरपालिका तथा मुगुम कार्मारोङ गाउँपालिकाका बिरामीको नमुना परीक्षण गर्दा भाइरल ज्वरो देखिएको उहाँले बताउनुभयो। अन्य गाउँपालिकाका बिरामीको प्रयोगशालामा परीक्षण भने अझै बाँकी रहेको छ।
सहायक प्रमुख जिल्ला अधिकारी मिश्रका अनुसार हाल भाइरल ज्वरो दुई पालिकामा फैलिएको देखिएको छ। नियन्त्रण हुन नसके थप स्वास्थ्यकर्मी तथा औषधिको आवश्यकता पर्न सक्ने अवस्था रहेको उहाँको भनाइ छ। डेढ हप्तादेखि यस्ता समस्या देखिन थालेको र स्थानीय वडाध्यक्षहरूले समेत जानकारी गराएको उहाँले जनाउनुभयो।
यता स्वास्थ्य सेवा कार्यालय मुगुका प्रमुख निर्मल नगरकोटीले चिसोका कारण दीर्घरोगी, बालबालिका र वृद्धवृद्धामा भाइरल ज्वरोको असर बढी देखिएको बताउनुभयो। मृत्यु भएका व्यक्तिहरू दीर्घरोगी समेत रहेको उहाँको भनाइ छ।
स्वास्थ्य सेवा कार्यालयले सञ्चालन गरेको शिविरमार्फत मुगुम कार्मारोङ गाउँपालिकामा २५० जनाको उपचार गरिएको छ। तथ्यांकअनुसार मार्गी १०, छायाँनाथ रारा ५२, मह ४५० र पाप्मा ८८ जना ज्वरोका बिरामीले उपचार गराएका छन्।
शिविरमा खटिनुभएका डाक्टर पूजा आचार्यका अनुसार दैनिक ६० भन्दा बढी बिरामी उपचारका लागि अस्पताल पुग्ने गरेका छन्। अस्पताल आउने बिरामीमध्ये ५० प्रतिशतभन्दा बढी ज्वरोका बिरामी रहेको र दम तथा निमोनियाका बिरामीलाई बढी समस्या देखिएको जानकारी दिनुभयो। चिसोका कारण समस्या बढेको चिकित्सकहरूको निष्कर्ष छ।
यसैबीच, मुगुका स्थानीय युवा आशीष देवकोटाको नेतृत्वमा युवाहरूले स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतमलाई ज्ञापनपत्र बुझाउँदै जिल्ला अस्पतालको कमजोर अवस्था, दिनानुदिन बढ्दो बिरामीको चाप र सम्भावित आपतकालीन अवस्थालाई ध्यानमा राखी तत्काल हस्तक्षेप गर्न माग गरेका छन्।
स्वास्थ्य सेवा कार्यालयका अनुसार पुरानो एक्स–रे मेसिन बिग्रिए पनि सामान्य मर्मतपछि अस्थायी रूपमा सञ्चालनमा ल्याइएको छ भने नयाँ एक्स–रे मेसिनका लागि सामाजिक विकास मन्त्रालयसँग समन्वय गरिएको जानकारी दिइएको छ।
मुगुका तीन पालिकामा भाइरल ज्वरोको प्रकोप, पाँच जनाको मृत्यु
तपाईको प्रतिक्रिया

डोल्पा न्यूज । १० पुष २०८२, बिहीबार ०९:१७