ताजा समाचार

बौद्ध आनी रिन्जान लामाको भरोसामाथि गरिएकाे विश्वासघात:तमसुक हेर्दै बितिरहेका दिनहरू

डाेल्पान्युज डेक्स

डोल्पा ।काइके गाउँपालिका–१ स्थायी घर भई हाल ठुलिभेरी नगरपालिका–३ दुनै बजारमा सानो होटल व्यवसाय सञ्चालन गर्दै आएकी ४४ वर्षीया रिन्जान लामा आज न्यायको प्रतीक्षामा छन्।

उनी एक साधारण व्यवसायी मात्र होइनन्, बौद्ध विद्या अध्ययन गरेकी आनी हुन्— जसले विवाहको बाटो त्यागेर, एकल संघर्षमै जीवनलाई अर्थ दिँदै आइरहेकी छन्।
आनी जीवनका कारण वैवाहिक जीवनमा नबाँधिन सक्ने अवस्थामै उनले आफ्नै श्रम, पसिना र इमानदारी का बलमा जीवन गुजारा चलाउँदै आएकी थिइन्।

संसारप्रति विश्वास राख्ने, झुट र छलबाट टाढा रहने उनको यही सरल स्वभावलाई कमजोरी ठानेर सरावाङ–१ राेल्पा निवासी शक्ति राम बुढाका छोरा, ३८ वर्षका कृष्ण बुढा (निर्मल भनिने) ले ठगी गरेको आरोप लागेको छ।
पीडितका अनुसार, कृष्ण बुढाले अनेकन आश्वासन, भावनात्मक प्रलोभन र छिट्टै रकम फिर्ता गर्ने प्रतिबद्धता जनाउँदै २०८२ साल जेठ महिनामा १ लाख ४० हजार रुपैयाँ लगे। पछि उनले पैसा बुझाउने भाका राखी तमसुकसमेत गरेको भए पनि हालसम्म रकम फिर्ता नभई उनी सम्पर्कविहीन छन्।
आज रिन्जान लामा त्यो तमसुकलाई हातमा लिएर, आँखाले हेर्दै, मनले विश्वास गर्दै “भोलि त आउँछ कि” भन्ने आशामा दिन काटिरहेकी छन्।
त्यो कागज अब केवल कानुनी प्रमाण मात्र होइन उनको भरोसाको अन्तिम आधार,एकल जीवनको सहारा,र न्याय पाउने आशाको प्रतिक बनेको छ।
“तमसुक छ, मिति छ, भाका पनि छ,” उनी भावुक हुँदै भन्छिन्, “तर पैसा छैन। म अझै पर्खिरहेकी छु सायद उसले मान्छेको धर्म सम्झेला।”
ठगिएको रकम उनका लागि केवल आर्थिक क्षति होइन। त्यो मेहनत गरेर जोगाएको भविष्य, एकल जीवनको सुरक्षा, र आत्मनिर्भर भएर बाँच्ने आत्मबल सँग जोडिएको थियो ।रकम फिर्ता नहुँदा उनी आर्थिक सङ्कटसँगै गहिरो मानसिक पीडामा डुबिरहेकी छन्।
यस घटनाले समाजलाई गम्भीर प्रश्न सोधेको छ ।धर्म, विश्वास र सरलतामा टिकेको जीवनमाथि गरिएको यस्तो विश्वासघातलाई राज्यले कहिलेसम्म बेवास्ता गर्ने?
पीडित रिन्जान लामा अहिले पनि कानुनी प्रक्रियामा जाने आशा राख्दै, दोषी आफैं सुध्रिएर पैसा फिर्ता गरिदिने प्रतीक्षामा छन्। तर समय बित्दै जाँदा त्यो प्रतीक्षा पीडामा रूपान्तरण हुँदै गएको छ।
अब प्रश्न एउटै बाँकी छ।
तमसुक हातमा बोकेर न्यायको बाटो कुर्दै बसेकी बौद्ध आनी रिन्जान लामाले कहिले न्याय पाउने?

तपाईको प्रतिक्रिया