विष्णुप्रसाद देवकोटा
डाेल्पा।डोल्पाको काईके गाउँपालिका वडा नं. ५ मा पर्ने ब्याँसी गाउँस्थित सुर्बोछे गुम्बाको भान्सा कोठामा आगलागी हुँदा लाखौँ रुपैयाँ बराबरको क्षति भएको छ। मंसिर २८ गते शनिबार बेलुकी ङेर्ङा पूजाको दिन भान्सा कोठाबाट निस्किएको आगोको झिल्काबाट आगलागी भएको हो।
शनिबार राति करिब १२ बजेतिर गुम्बाका प्रमुख लामाले भान्सा कोठाबाट धुवाँ निस्किएको देखेपछि छिमेकीलाई खबर गरेका थिए। त्यसपछि गुम्बाका चारै घरका मानिसहरू मिलेर आगो निभाएका कारण गुम्बाका अन्य संरचनामा थप क्षति हुनबाट जोगिएको छ।
आगलागीका कारण भान्सा कोठाभित्र रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भएपछि ब्याँसी गाउँका स्थानीयवासी चिन्तित बनेका छन्। काईके गाउँपालिका–५ ब्याँसी गाउँस्थित मिलिजुली समाज सेवा युवा क्लबका अध्यक्ष मण्डुक रोकायाका अनुसार पुर्खादेखि धार्मिक आस्थाका साथ पूजापाठ हुँदै आएको गुम्बाको भान्सा कोठा पूर्ण रूपमा नष्ट हुँदा पुनर्निर्माणका लागि आर्थिक अभाव देखिएको छ।
घटनाप्रति दुःख व्यक्त गर्दै गुम्बाको पुनर्निर्माण तथा मर्मतसम्भारका लागि तत्काल पूर्व शहरी विकास मन्त्री धनबहादुर बुढाले रु. २० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको क्लब अध्यक्ष रोकायाले जानकारी दिए। उनले सहयोगप्रति पूर्व मन्त्री बुढालाई धन्यवाद दिँदै गुम्बा पुनर्निर्माणका लागि अन्य सहयोगी मनहरूलाई पनि सहयोग गर्न आग्रह गरेका छन्।

डोल्पा न्यूज । २९ मंसिर २०८२, सोमबार १८:१२