डोल्पा । विकास र समृद्धिका हिसाबले पछाडि परेको मानिने डोल्पा जिल्लामा ठूलो क्षमताको जलविद्युत् आयोजना निर्माण हुने भएको छ । जिल्लामा जलाशययुक्त प्रकृतिको ३२८ मेगावाट क्षमताको भारबुङ जलविद्युत् आयोजना निर्माणका लागि विद्युत् विकास विभागले अध्ययन तथा वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रक्रिया अगाडि बढाएको छ ।
विभागका अनुसार डोल्पाको छार्का ताङसोङ गाउँपालिका र काईके गाउँपालिका क्षेत्रमा भौतिक संरचना निर्माण हुने गरी भारबुङ र तातु खोलाको पानी उपयोग गरिनेछ । आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृतिका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको सिफारिससहित वन तथा वातावरण मन्त्रालयमा पेस भइसकेको छ ।
विवरणअनुसार भारबुङ नदीमा ३२५ मेगावाट क्षमताको जलाशययुक्त आयोजना निर्माण गरिनेछ भने तातु खोलाको १.१२ क्युसेक पानी प्रयोग गरी नदी प्रवाहमा आधारित प्रणालीमार्फत थप ३.१० मेगावाट क्षमताका दुई वटा प्रणाली स्थापना गरिनेछ ।
आयोजनाबाट छार्का ताङसोङ गाउँपालिका–४ र ५ तथा काईके गाउँपालिका–१ का भूभाग प्रभावित हुनेछन् । छार्का ताङसोङ गाउँपालिका–४ मा १६९ मिटर अग्लो बाँध, ७६६ मिटर लामो डाइभर्सन सुरुङ, इन्टेक तथा १६ किलोमिटर लामो हेडरेस सुरुङ निर्माण हुने विभागले जनाएको छ । सोही गाउँपालिका–४ र काईके गाउँपालिका–१ मा भूमिगत विद्युत् गृह र पानी निकास नहर निर्माण गरिनेछ । आयोजनाको जलाशयका कारण छार्का ताङसोङ गाउँपालिका–५ का केही भूभाग डुबानमा पर्नेछन् ।
आयोजनाका दुवै प्रणालीबाट वार्षिक ९३३.१९ गिगावाट घण्टा विद्युत् उत्पादन हुने अनुमान गरिएको छ । आयोजनास्थल डोल्पाको जुफाल विमानस्थलबाट करिब १२ किलोमिटर टाढा रहेको छ । उत्पादन हुने विद्युत् प्रस्तावित दुनै सबस्टेशन मार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ ।
भारबुङ जलविद्युत् आयोजनाको कुल लागत एक खर्ब तीन अर्ब ३१ करोड नौ लाख ३१ हजार रुपैयाँ रहने अनुमान गरिएको छ । प्रतिमेगावाट लागत २८ करोड ५० लाख ९३ हजार ९८० रुपैयाँ रहेको छ ।याे आयाेजना निर्माण भएमा लामाे समयदेखि अस्थाई विधुतबाट हैरानी खेप्दै आएका जिल्लाबासीले दिर्घकालिन भरपर्दा विधुत उपयाेग गर्न पाउने छन ।

डोल्पा न्यूज । ११ माघ २०८२, आईतवार ०५:३४