ताजा समाचार

नेपाली सैनिककाे दादागिरीप्रति डाेल्पालीकाे आक्रोश, कार्वाही माग गर्दै दुनैमा प्रदर्शन  

विष्णुप्रसाद देवकोटा

डोल्पा ।शान्ति–सुरक्षा कायम गर्ने जिम्मेवारी बोकेका सुरक्षाकर्मीबाटै नागरिक असुरक्षित बन्न थालेपछि डोल्पामा गम्भीर प्रश्न उठेको छ।पुस ३ गते साझ खुदेगाैडास्थित नेपाली सेनाकाे चेकजाँच पाेष्टमा सैनिक जवानले जीपचालक माथि गरेकाे कुटपिट र अमानवीय ब्यवहारकाे जिल्लाका सराेकारवालाले विराेध जनाएका छन । ।जिल्ला सुरक्षा समितिका संयाेजक समेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी रमेश पाैडेललाई  ध्यानाकर्षण पत्रमार्फत जिल्लामा कार्यरत नेपाली सेनाका केही जवानको दादागिरीपूर्ण व्यवहार, मनपरी चेकजाँच र अमानवीय व्यवहारप्रति तीव्र आपत्ति जनाइएका हुन।

पत्रमा सुरक्षाको नाममा सर्वसाधारणमाथि डर, त्रास र अपमान थोपरिने गरेको उल्लेख छ। चेकपोष्टमा अनावश्यक रोकतोक, हप्कीदप्की, दुर्व्यवहार तथा मानवअधिकारको ठाडो उल्लङ्घन भइरहेको आरोप लगाइएको छ। संविधानले प्रत्याभूत गरेको सम्मानपूर्वक बाँच्न पाउने अधिकारमाथि सुरक्षाकर्मीबाटै प्रहार हुनु लज्जास्पद भएको पत्रमा उल्लेख गरिएको छ।

डोल्पाजस्तो विकट जिल्लामा राज्यको उपस्थिति सुरक्षाकर्मीमार्फत देखिने भए पनि उनीहरूको गैरजिम्मेवार व्यवहारले राज्यप्रतिको भरोसा कमजोर बन्दै गएको सरोकारवालाहरूको ठहर छ। शान्ति कायम गर्न खटिएको संयन्त्र नै नागरिकको असुरक्षाको स्रोत बन्नु लोकतान्त्रिक व्यवस्थामाथिको ठाडो चुनौती भएको जनाइएको छ।

ध्यानाकर्षण पत्रमा राजनीतिक दल, नागरिक समाज र सरोकारवाला प्रतिनिधिहरूले घटनाको निष्पक्ष छानबिन नगरे जनआक्रोश थप चर्किने चेतावनीसमेत दिएका छन्। दोषी सुरक्षाकर्मीमाथि तत्काल कारबाही, चेकपोष्ट व्यवस्थापन सुधार र मानवअधिकारमैत्री सुरक्षा प्रणाली लागू गर्न माग गरिएको छ।

पत्रमा उल्लेख गरिएअनुसार शान्ति–सुरक्षा बन्दुकको भरमा होइन, नागरिकको विश्वासबाट स्थापित हुने हो। तर डोल्पामा भने सुरक्षाकै नाममा नागरिकको आत्मसम्मानमाथि प्रहार भइरहेकाले राज्यले अब पनि आँखा चिम्लिरहन नहुने चेतावनी दिइएको छ।

ध्यानाकर्षण पत्रमा नेपाली कांग्रेस डोल्पाका दशरथ राेकाया नेकपा एमाले डोल्पाका नरबहादुर बुढा  नेपाली कम्युनिस्ट पाटीका बिरमलकुमार भण्डारी धर्मलाल बुढा नागरिक समाज डाेल्पाकम अध्यक्ष शेरबहादुर बुढा सहितले ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन ।जिल्ला प्रशासनलाई ज्ञापनपत्र बुझाउनु अघि डाेल्पा संयुक्त यातायात प्रालीका अध्यक्ष विशाल राेकाया लगायत नागरिक समाज राजनीतिक दल सहितले विभिन्न नारासहित कुठपिटमा संलग्न सैनिक जवानलाई कार्वाही माग गर्दै दुनैबजारमा प्रदर्शन समेत गरेका छन ।

तपाईको प्रतिक्रिया