ताजा समाचार

उम्मेदवारी ‘पेन्डिङ’मै राख्दै उज्यालो नेपाल पार्टीका उम्मेदवार विष्ट कांग्रेस फर्किए 

विष्णुप्रसाद देवकोटा
आफ्नो उम्मेदवारी औपचारिक रूपमा फिर्ता नलिई ‘पेन्डिङ’ अवस्थामा राख्दै उज्यालो नेपाल पार्टीका उम्मेदवार दिलबहादुर विष्ट नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। कांग्रेसका सह–महामन्त्री तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवार कर्णबहादुर बुढाले विष्टको निवासमै पुगेर राईको फेटा, अविर–टीका लगाई स्वागत गरेका हुन्।
विष्टलाई समर्थन गर्न र “पुरानै घर—नेपाली कांग्रेस” मा फर्कन आग्रह गर्दै सह–महामन्त्री बुढा स्वयं निवासमै पुगेका थिए। यससँगै कांग्रेस त्रिपुरासुन्दरी नगर कार्यसमितिले समेत विष्टको सम्मानमा स्वागत कार्यक्रम आयोजना गरेको छ। नगरसभापति टोपबहादुर शाही लगायत नगरका नेताहरूले औपचारिक रूपमा स्वागत गरेका थिए।
कांग्रेस प्रवेशपछि बोल्दै विष्टले आफ्नो राजनीतिक यात्रा र वैचारिक प्रतिबद्धताको मूल थलो नेपाली कांग्रेस नै भएको आत्मबोधका साथ आफू आफ्नै घर फर्किएको बताएका छन्।
“नेपाली कांग्रेसप्रति मेरो योगदान, लगानी र निष्ठा सतही होइन, त्यो दीर्घकालीन, गहिरो र प्रतिबद्धताले भरिएको छ,” विष्टले भने।
समयाभाव र प्रक्रियागत जटिलताका कारण यस निर्वाचनमा उम्मेदवारी औपचारिक रूपमा फिर्ता लिन नसकिएको स्पष्ट पार्दै उनले हालका लागि उम्मेदवारी ‘पेन्डिङ’ अवस्थामा रहने बताए। यद्यपि आगामी निर्वाचनमा कांग्रेसका आधिकारिक उम्मेदवार कर्णबहादुर बुढाको विजय सुनिश्चित गर्न कुनै प्रयास बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे।
कांग्रेस सह–महामन्त्री तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवार कर्ण बुढाले आफू र विष्टबीच कुनै तुच्छ मनमुटाव नरहेको स्पष्ट पार्दै त्रिपुरासुन्दरी नगर समितिका साथीहरूको पहललाई सम्मान गर्दै विष्ट कांग्रेसमा फर्किनु सुखद भएको बताए।
“प्रक्रियागत कारणले उम्मेदवारी फिर्ता लिन नमिले पनि निस्वार्थ रूपमा ‘पेन्डिङ’मा राखेर कांग्रेस फर्किनु ठूलो राजनीतिक परिपक्वता हो,” उनले भने। मानिसलाई सम्मान र इज्जत दिन सक्नु नै सबैभन्दा ठूलो राजनीति भएकोमा उनले जोड दिए।
विष्ट आफ्नो सहपाठी मात्र नभई नातालु फुपाजु समेत भएको उल्लेख गर्दै बुढाले पार्टीप्रति उहाँको विगतको योगदान महत्वपूर्ण रहेको र भविष्यमा पनि रहने विश्वास व्यक्त गरे।
कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख श्यामबहादुर रोकाया, पार्टी सचिव हिक्मत शाही, प्रदेश निर्वाचन क्षेत्र ‘ख’ सभापति केशव बुढा, नेपाली कांग्रेसका २०७९ का नगर प्रत्यासी मेयर चन्द्रलाल धराला लगायतका नेता तथा कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया