ताजा समाचार

भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि …

डाक्टर साब, भिडियो एक्सरे गर्नु पर्नेछ बहिनीको। हामी पारी अस्पतालमा गएका थियौँ। त्यहाँबाट एकजना सिस्टरले “डाक्टर त घरमै हुनुहुन्छ” भन्नुभयो अनि यता आयौँ। तपाईं अहिले यतै हुनुहुन्छ ? मैले “हो, म यतै हुन्छु, घरमै आउनुहोस्” भनेँ। अस्पतालको जागिर छोडेर आजभोलि आफ्नै क्लिनिकमा बिरामी हेर्दै आएको छु। एउटा सानो युएसजी मेसिन राखेर, जेजति सकिन्छ सेवा गर्दै आएको छु- पैसा दिने बाट लिने, नदिने सँग नमाग्ने। उहाँलाई पनि यही भनेँ, “यतै ल्याउनुहोस्।”

फोनबाटै एकजनालाई “डाक्टर घरमै हुनुहुन्छ, आउनुहोस्” भनेर भनेपछि करिब ३० मिनेटमा एकजना बहिनी आइन्। म क्लिनिकतिर गएँ र सोधपुछ गरेँ। उहाँको महिनावारी रोकिएको रहेछ, त्यसैले भिडियो एक्सरे गर्न दिदी र फुपुसँग आएकी रहिछिन्। मैले सोध्दा उनी अलि अकम्किँदै उत्तर दिइरहेकी थिइन्। नाम, उमेर, २१ वर्ष। हेर्दा २१–२२ कै थिइन्। तैपनि दिदीसँग पुष्टि गरेँ, “२१ कै हुन त ?” दिदीले “हो, यही असारबाट २१ भइन्” भन्नुभयो।

सबै सोधपुछपछि उनको भिडियो एक्सरे गरियो। उनी दिएको मितिअनुसार जम्मा १४ हप्ता, र भिडियो एक्सरेमा १६ हप्ता देखायो। बच्चाको मुटुको धड्कन राम्रो, साल–प्लासेण्टा सबै सामान्य, जे–जति मेरो दक्षताले भ्यायो सबै हेरेँ। देखिएको सबै कुरा बताएँ र उठ्न भनें। उनी उठेर कुर्सीमा बसिन्। दिदी छेउमा आएर भन्नुभयो, “डाक्टर, यो बच्चा फाल्नुपर्ने भयो, कति पैसा लाग्छ, फालिदिनु पर्‍यो।”

मले भनेँ, “यो बच्चा फाल्न मिल्दैन। ठूलो भइसकेको छ। अनि बच्चा फाल्ने औषधि मेरो छैन। बाहिर किनेर खानु भन्दा अस्पताल गएर गर्नुपर्ने हो, तर अस्पतालले पनि यस्तो गर्भपतन गर्दैन।”

दिदीले फेरि “हुदैन, जसरि भए पनि फाल्ने” भनिन्।

मैले सोधेँ, “भर्खर २१ वर्ष पुगेर पहिलो बच्चा किन फाल्नु ?”

उनले दिएको जवाफ सुनेर म अक्क न बक्क भएँ।

दिदीले वास्तविक कुरा भन्नुअघि “यो कुरा कसैलाई नभन्नु होला है” भन्दै सुरु गरिन्।

उनले स्थानीय लवजमा भनिन्,  ‘यसको बिहे भएको छैन। हामीलाई थाहा थिएन। यहीले बच्चा बोकेंकी हो भनेपछि मात्र थाहा पाइयो। महिनावारी पनि रोकिएको थियो। सोध्दा भनिन्- ‘पेटमा बच्चा बस्यो।’ हामीले त गाउँकै कसैको हो कि भनेर शंका गर्‍यौँ। यहीसँग सोध्दा अर्कै दिन फेरि ‘बड्डा’ लाई भन्दै थियो, उनी के जानुन्…, अनि सोध्दा यहीले भनिन्…”

त्यति बेलामा अर्को बिरामी आए, दिदीले कुरा रोकिन्। मैले नयाँ बिरामीलाई अलिक पछि आउन भनेँ। फेरि दिदी तिर फर्किएँ, “त्यसपछि के भनिन् ?”

दिदीले भनिन्, “यसैले तिम्रो श्रीमान्को बच्चा हो भनी। असार महिनादेखि पटक–पटक सँगै सुतेकी रहेछे। त्यही बेला बच्चा बसेको रहेछ। दुईचोटि गाउँकै मेडिकलबाट औषधि खाइछे- ‘बच्चा गएको होला’ भन्थी तर गएन रहेछ।”

मैले सुनेर झन् अत्तिएँ। घरका दाइलाई बोलाएँ। सोध्दा उनले पनि स्वीकारे।

दिदीहरू रोए, “समाजले थाहा पाए हामी जिउँदै मर्छौँ, डाक्टर, बच्चा फालिदिनु।”

मैले ती बहिनीलाई सोधेँ—“दिदीले भनेको कुरा सहि हो ?”

उनले भनिन्, हो, सही हो। यो बच्चा भिनाजुको हो। सुरुको रात डर देखाएर सुत्न आए। दिदि घरमा थिइनन्। म कराउन सकिनँ। त्यसपछि पहिलो रातपछि ‘अब केको डर’ भनेर दिदि नभएको बेलामा सँगै सुत्न थालेँ।”

यो सुनेपछि मैले भनें, “यो गर्भ यति ठूलो भइसकेपछि यतै फाल्न मिल्दैन। यदि तिमीलाई जबरजस्ती भएको हो भन्ने लाग्छ भने उजुरी देऊ, म सहयोग गर्छु।’

दिदीले बीचमै गाली गर्दै ‘यसले पहिले नै भनेको भए यस्तो हुने थिएन’ भनिन्।

मैले रोकें, “तपाईंको श्रीमानले पहिलो रात जबरजस्ती नगरेको भए यस्तो दिन आउँथ्यो ? आफ्ना श्रीमानको बचाउ गर्दै बहिनिलाई किन मात्र गाली गर्नुहुन्छ ? अहिले नै प्रहरी बोलाऊँ ?”

दिदी चुप लागिन्।

बहिनीले फेरि भनिन्, “डाक्टर, उजुरी गर्दिनँ। सबैको बेइज्जत हुन्छ। म गाउँ कसरी फर्कूँ ? बच्चा फाल्ने उपाय मात्र बताइ दिनुहोस्। कसैलाई थाहा नपाओस्।’

मैले सोधेँ- “पहिले खाएको औषधि कहाँबाट ल्याएको ?”

उनले भनिन्- “गाउँकै मेडिकल दाइले एउटा पत्ता ८,००० मा ल्याइदिएका थिए। दुई पटक खानु पर्छ भनेका थिए। १६,००० तिरेँ। तर बच्चा गएन।”

कानुनी बाटो सिकाउँदा पनि नमानेपछि मैले भनेँ, “अब कानुनी रूपमा मात्र गर्भपतन सम्भव छ। नेपालगन्ज वा सुर्खेत जाऊ। त्यहाँ तिम्रो कुरा सुनेर कानुनी प्रक्रिया अनुसार सुरक्षित गर्भपतन गर्छन्।”

दिदीले पनि “अब यता हुँदैन, लगेर जानुपर्छ” भनिन्। तर बहिनिलाई फेरि गाली गरिन्।

मैले रोक्दै भनेँ, “गल्ती उहाँको मात्रै होइन। तपाईंले श्रीमान्लाई केही नबोली बहिनिलाई मात्र किन गाली गर्दै हुनुहुन्छ ?”

निस्कँदा तीनैजना, दिदि, फुपु, र ती बहिनी मलाई नमस्कार गर्दै निस्किए।

ती बहिनी फर्केर भनिन्,  “डाक्टर, कसैलाई नभन्नु होला है। जे हुनु भइसकेको छ। प्रहरी गए परिवारको इज्जत जान्छ। म गाउँ कसरी जाऊँ ?”
र खल्तीबाट पैसा निकाल्दै मूल्य सोधिन्।

मैले भनेँ, “तिम्रो लागि निशुल्क।”

उनीहरू ओझेल परे।

देशभर लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहँदा (र आज अन्तिम दिन पनि हुँदा) यस्तो पिडा अर्को वर्ष दोहोरिन नदिन समाजले अवश्य केही कदम चाल्नुपर्छ।

एक युवती, जसले पहिलो रात जबरजस्ती सहनु पर्‍यो, त्यसपछि डरकै कारण पटक–पटक आफ्नै भिनाजुसँग सुत्न बाध्य बनाइन्। दिदिले श्रीमानको इज्जतको डरले आफ्नी अविवाहित बहिनीकाे अस्तित्व खेर फालिदिइन्। यस्ता दिदीहरू अझ कति होलान् हाम्रो समाजमा ?

हामी लैङ्गिक हिंसा विरुद्ध अभियान चलाउँछौँ, तर कानुनी बाटो खोज्नको लागि पिडितलाई रोक्ने कुरा भने उहीँका उहीँ छन्। किन ?

श्रीमानको इज्जत जोगाउन चाहने दिदीले आफ्नै बहिनीको सम्मान जोगाउन किन चाहिनन् ?

यो सोचाइ परिवर्तन गर्न हामी किन ढिलो गरिरहेका छौँ ?स्वास्थ्य खवरबाट

(डा उपाध्याय डोल्पामा कार्यरत मेडिकल अधिकृत हुन्)

 

तपाईको प्रतिक्रिया