ताजा समाचार

प्रतिनिधिसभा निर्वाचनका कारण एसईई सर्ने तयारी

डाेल्पान्युज डेक्स

डाेल्पा ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका कारण माध्यमिक शिक्षा परीक्षा (एसईई) सार्ने तयारी भएको छ। निर्वाचनका कारण परीक्षा सञ्चालन, प्रश्नपत्र तथा मतपत्र छपाइ कार्य एकै समयमा पर्न जाँदा एसईई परीक्षा तालिका प्रभावित हुने देखिएको हो।

राष्ट्रिय परीक्षा बोर्डको क्यालेन्डरअनुसार एसईई परीक्षा २०८२ चैत ७ गतेदेखि सुरु हुने तय थियो। तर निर्वाचनका कारण केही दिन परीक्षा सञ्चालन सम्भव नहुने अवस्था आएको जनाइएको छ।

यस वर्ष करिब ५ लाख १७ हजार विद्यार्थीले एसईई परीक्षा फाराम भरेका छन्। करिब ७२ विषयमा परीक्षा सञ्चालन हुने छ। प्रश्नपत्र छपाइको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्रले निर्वाचनसँगै प्रश्नपत्र छपाइमा समय व्यवस्थापन चुनौतीपूर्ण भएको जनाएको छ।

जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेल का अनुसार प्रतिनिधिसभा निर्वाचनका लागि करिब दुई करोड आठ लाख मतदाता लक्षित गरी चार करोड १६ लाख थान मतपत्र छपाइ गर्न निर्वाचन आयोगसँग सम्झौता भइसकेको छ। सोही कारण एसईई प्रश्नपत्र छपाइ कार्य केही दिन ढिला हुन सक्ने अवस्था रहेको उनले बताए।

उनका अनुसार पाठ्यपुस्तक, एसईई प्रश्नपत्र र निर्वाचनका मतपत्र छपाइ तीनवटै काम सरकारी भएकाले सरकारले एसईईको समयावधिबारे उपयुक्त निर्णय लिनुपर्ने अवस्था आएको छ। विद्यालय तहका पाठ्यपुस्तक छपाइका लागि करिब एक करोड ७० लाख थान छपाइको जिम्मेवारी दिइएकोमा हालसम्म एक करोड ४० लाख थान छपाइ सम्पन्न भइसकेको र बाँकी ३० लाख थान फागुन मसान्तसम्म छपाइ गर्ने तयारी रहेको पौडेलले जानकारी दिए।

उनका अनुसार हिमाली जिल्लामा छिटो सुरु हुने शैक्षिक सत्रलाई ध्यानमा राख्दै पाठ्यपुस्तक तयारीसमेत अन्तिम चरणमा पुगेको छ।

निर्वाचनका कारण उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै एसईई परीक्षा तालिकाबारे सम्बन्धित निकायबीच आवश्यक समन्वय भइरहेको जनाइएको छ।

तपाईको प्रतिक्रिया