विष्णुप्रसाद देवकोटा
डोल्पा । त्रिपुरासुन्दरी नगरपालिका क्षेत्रमा गरिएको खानेपानी गुणस्तर परीक्षणले एउटा गम्भीर यथार्थ उजागर गरेको छ ।पानीको समस्या मुहानमा होइन, वितरण प्रणालीमै भएकाे पाइएकाे छ। पालिकास्तरीय खानेपानी गुणस्तर परीक्षण शिविरका क्रममा केही आरभिटि ट्याङ्की र धाराबाट आपूर्ति हुने पानीमा दिसाजन्य जीवाणु भेटिनुले खानेपानी व्यवस्थापनको कमजोर कडी बाहिर आएको हो।
नगरपालिकाको पानी, सरसफाइ तथा स्वच्छता इकाई शाखाले ११ वडाका ३० वटा खानेपानी योजनाबाट नमुना सङ्कलन गरी परीक्षण गर्दा त्रिपुरासुन्दरी नगरपालिका–३ का सु र जिउ, वडा नम्बर–२ को मद्दु, वडा नम्बर–८ को पहाडा तथा वडा नम्बर–१काे त्रिपुराकाेट बगर बजारकाे खानेपानी योजनामा दिसाजन्य जीवाणु (इ–कोली) देखिएको पुष्टि भएको छ। परीक्षणअनुसार यी प्रदूषण मुहानको पानीमा नभई आरभिटि ट्याङ्की र धाराबाट लिइएका नमुनामा भेटिएको हो।
यसले मुहानदेखि घरधुरीसम्म पानी पुग्ने क्रममा हुने ट्याङ्की सरसफाइको अभाव, पाइपलाइन चुहावट, खुला धारा तथा उपभोक्ता तहको असावधानी प्रमुख जोखिमका रूपमा देखाएको छ। पानी वितरण संरचना नै प्रदूषणको माध्यम बन्दै गएको संकेत परीक्षण नतिजाले दिएको सरोकारवालाको भनाइ छ।
वास शाखा प्रमुख धनप्रसाद बुढाका अनुसार अत्यधिक जाडोका कारण केही परीक्षण प्रतिवेदन अपेक्षाअनुसार स्पष्ट आउन नसके पनि उल्लेखित स्थानबाहेक अन्य सबै योजनाको पानी अधिकांश सूचकमा राष्ट्रिय खानेपानी गुणस्तर मापदण्डभित्र रहेको पाइएको छ। “मुहानको पानी सुरक्षित देखिनु सकारात्मक पक्ष हो, तर वितरण प्रणालीमा देखिएको प्रदूषण अझ खतरनाक छ,” बुढाले भने।
परीक्षणमा पानीको अम्लीय–क्षारीय अवस्था, मैलोपन, विद्युत् चालकता, रासायनिक अवस्था तथा दिसाजन्य जीवाणुको स्थिति परीक्षण गरिएको थियो। यसले झाडापखाला, टाइफाइड र जन्डिसजस्ता पानीजन्य रोगको सम्भावित जोखिम क्षेत्र पहिचान गर्न सहयोग पुगेको नगरपालिकाले जनाएको छ।
स्थानीयवासी हरिचन्द्र हमालका अनुसार कतिपय आरभिटि ट्याङ्की वर्षौँदेखि सफा नगरिएको, धाराहरू खुला अवस्थामा रहेको र पाइपलाइन भाँचिए पनि मर्मत नहुने अवस्था छ।चरम लापरबाहीले मुहानबाट सुरक्षित आएको पानी अन्तिम बिन्दुमा पुग्दा असुरक्षित बन्ने गरेको हमालले गुनासो पाेखे।
नगरपालिकाले प्रदूषण देखिएका योजनामा तत्काल सुधारात्मक कदम चाल्ने जनाएको छ। नियमित क्लोरिनेसन, आरभिटि ट्याङ्की तथा धाराको सरसफाइ, संरचना मर्मत, उपभोक्ता व्यवहार सुधार र निरन्तर अनुगमनलाई प्राथमिकतामा राखेर कार्ययोजना अघि बढाइने बताइएको छ। साथै मौसम अनुकूल समयमा थप गुणस्तर परीक्षण गरी जोखिम न्यूनीकरण गरिने नगरपालिकाको योजना छ।
खानेपानी परीक्षणले एउटा स्पष्ट सन्देश दिएको छ ।यसर्थ मुहान संरक्षण मात्र पर्याप्त छैन, वितरण प्रणाली सुरक्षित नबनाएसम्म स्वच्छ खानेपानीको दाबी अपूरो नै रहनेछ।

डोल्पा न्यूज । २४ पुष २०८२, बिहीबार १३:२३