विष्णुप्रसाद देवकोटा
डोल्पा ।स्थानीय युवा बेपत्ता भएको घटनालाई लिएर डोल्पामा प्रहरी र स्थानीयबीच शनिबारदेखि सुरु भएको विवाद अझै समाधान हुन सकेको छैन। विवाद चर्किँदै गएपछि घटनाको छानबिनका लागि खटाइएको प्रदेश प्रहरी कार्यालय सुर्खेतको छानबिन समिति समेत बीच बाटोमै रोकिएको छ, जसले घटनाको निष्पक्ष अनुसन्धानमै अन्योल सिर्जना भएको छ।
त्रिपुरासुन्दरी नगरपालिका–५ अन्तर्गत पर्ने इलाका प्रहरी कार्यालय करोपगार्ड र सोही वडाको ल्हाँ गाउँका स्थानीयबीच उत्पन्न विवाद छानबिन गर्न एसपी रामप्रसाद घर्तीमगरको नेतृत्वमा तीन सदस्यीय समिति खटाइएको थियो।
तर, स्थानीयले शनिबार रातिदेखि नै यातायात बन्दको घोषणा गरेपछि छानबिन टोली घटनास्थल पुग्न सकेको छैन।शनिबार बिहानै घटनास्थलतर्फ हिँडेको छानबिन टोली आइतबार बेलुकीसम्म पनि जाजरकोटको तल्नुबगरमै रोकिएको डोल्पाका डीएसपी रुकबहादुर खड्काले जानकारी दिए।
“हामीले सहजीकरणका लागि अनुरोध गर्यौं, तर स्थानीयले नमानेपछि टोली अघि बढ्न सकेन,” डीएसपी खड्काले भने।
स्थानीयले छानबिन टोलीलाई समेत आउन नदिने अडान लिएर खदाङ बजार क्षेत्रमा आक्रोश प्रदर्शन गरेपछि अवस्था झन् तनावग्रस्त बनेको हो।
शुक्रबार साँझ ल्हाँ गाउँका ३४ वर्षीय जुन रोकायालाई प्रहरीले जाँच गर्ने बहानामा लखेट्दा उनले भेरी नदीमा हाम फालेर बेपत्ता भएको स्थानीयको आरोप छ। रोकायाको अवस्था पत्ता लगाउनुपर्ने माग गर्दै स्थानीयले शनिबारदेखि यातायात बन्द गरी आन्दोलन थालेका हुन्।
तर, डीएसपी खड्काका अनुसार रोकायालाई प्रहरी चौकीबाट करिब तीन किलोमिटर टाढा रहेको छेप्के पुलमा लागुऔषध ओसारपसारको आशंकामा जाँच गर्न खोज्दा विवाद भएको हो। “प्रहरीले जाँच गर्न नपाउँदै उनी आत्तिएर ठूलो भेरी नदीमा हाम फाले,” उनले भने। हाल प्रहरी र स्थानीयको सहयोगमा भेरी नदीमा खोजी कार्य जारी रहेको जनाइएको छ।
घटना भएको स्थान जिल्ला प्रवेश गर्ने मुख्य मार्ग भएकाले जिल्लाभित्र आउने र बाहिरिने साना तथा ठूला सवारीसाधन बीच बाटोमै रोकिएका छन्। सयौं यात्रु अलपत्र परेका छन्।
विवाद उग्र बनेपछि शनिबार साँझ ल्हाँका स्थानीयले प्रहरी चौकीमा तोडफोडसमेत गरेका थिए।
प्रमुख जिल्ला अधिकारी भीमराज कोइरालाले घटनाको निष्पक्ष छानबिन गरी पीडितलाई न्याय दिइने प्रतिबद्धता जनाएका छन्। हाल खदाङ क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

डोल्पा न्यूज । २० पुष २०८२, आईतवार १८:१५