विष्णुप्रसाद देवकोटा
डाेल्पा ।
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ स्थित छलगार्ड खोला, वडा नम्बर ५ को खदाङस्थित भेरी नदी र रुकुम पश्चिम–जाजरकोटलाई जोड्ने तल्नुबगरमा निर्माण हुनुपर्ने तीनवटै पुलको काम ठप्प छ । जाजरकोट र रुकुम पश्चिम हुँदै डोल्पा जोड्ने मुख्य रणनीतिक मार्ग भेरी करिडोरमा पर्ने यी पुल निर्माण समयमै अघि नबढ्दा क्षेत्रीय आवागमन र विकासमा प्रत्यक्ष असर परेको छ ।
तीनवटै पुल निर्माणको जिम्मा पाएको वाईपीएमआर जेभी, भरतपुर चितवनले करिब एक वर्षमात्र काम गरेर निर्माण रोकेपछि आयोजना अलपत्र परेको हो । सम्झौताअनुसार २०७९ माघ २६ गते ३६ करोड २४ लाख ८६ हजार रुपैयाँ लागतमा २०८३ असार मसान्तभित्र तीनवटै पुल सम्पन्न गर्ने लक्ष्य लिइएको थियो ।
हाल छलगार्ड खोला र तल्लुबगर पुलका दुवैतर्फ आधार पिलर निर्माण भएको छ भने त्यसपछि कुनै प्रगति हुन सकेको छैन । उता, त्रिपुरासुन्दरी–५/६ अन्तर्गत खदाङको हरियापानीमा भने बस्तीभन्दा माथि अनुपयुक्त स्थानमा पुल बनाउन लागिएको भन्दै स्थानीयको निरन्तर अवरोधका कारण निर्माण कार्य सुरु नै हुन सकेको छैन । यसरी लामो समयदेखि काम रोकिँदा निर्माणस्थलमा पुर्याइएका छड, मेसिन र अन्य सामग्री प्रयोगविहीन अवस्थामा बिग्रँदै जान थालेका छन् ।
निर्माण कम्पनीका प्रोपराइटर रेशम भट्टराईले छलगार्ड र तल्नुबगरको पुलमा करिब ३५ प्रतिशत काम सम्पन्न भइसकेको दाबी गरेका छन् । खदाङमा स्थानीय अवरोध एक वर्षदेखि कायमै रहेकाले त्यहाँ पुर्याइएका करोडौँ मूल्यका निर्माण सामग्री र उपकरण अलपत्र परेको उनले बताए । एउटै परियोजनाअन्तर्गत तीनवटै पुल रहेकाले खदाङको विवाद नटुंगिँदासम्म अन्य दुई स्थानमा पनि काम अघि बढाउन नसकिने उनको भनाइ छ ।
‘यो परियोजनामा मेरो करोडौँ लगानी भइसकेको छ । खदाङको पुल विवाद सुल्झिएपछि मात्रै काम अघि बढाउन सकिन्छ । यदि पुल सेक्टर कार्यालय सुर्खेतले लिखित रूपमा छलगार्ड र तल्नुबगरको पुल मात्र निर्माण गर्न निर्देशन दिएमा तुरुन्तै काम सुरु गर्छु, अन्यथा एउटा छोडेर अर्को बनाउन सकिँदैन,’ भट्टराईले भने ।
यसैबीच, सडक विभागअन्तर्गत पुल सेक्टर कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख देवेन्द्र भट्टराईले फागुनभित्र काम सुरु नगरे पहिलो चरणमा पेस्की रोक्ने लगायतका कानुनी प्रक्रिया अघि बढाइने चेतावनी दिएका छन् । निर्माण कम्पनीलाई लिखित तथा मौखिक दुवै माध्यमबाट काम सुरु गर्न जानकारी गराइएको उनले डोल्पान्युजलाई बताए ।
स्थानीय तहबाट भने पुल निर्माणमा जनताको पहुँच र आवश्यकता बेवास्ता गरिएको गुनासो उठाइएको छ । त्रिपुरासुन्दरी–५ का वडा अध्यक्ष नरबहादुर झांक्रीले बस्ती र नागरिकलाई पायक पर्ने स्थानमा पुल नबनाइए स्थानीय अवरोध कायमै रहने स्पष्ट पारे । ‘डीपीआर गर्दा हाइड्रोपावरको काम भन्दै जनतालाई झुक्याइएको पाइयो । पुल बनाउने कुरा स्पष्ट गरिएको भए सुरुमा नै पायक पर्ने स्थानमा नापजाँच गरिन्थ्यो,’ उनले भने ।
पुल निर्माणमा देखिएको अवरोध समाधानका लागि त्रिपुरासुन्दरी नगरपालिकाका नगरप्रमुख जनचन्द्र रोकायाको पहलमा जिल्ला प्रशासन, निर्माण कम्पनी र खदाङका स्थानीयबीच पटक–पटक सर्वदलीय तथा सर्वपक्षीय छलफल भए पनि ठोस निकास ननिस्कँदा भेरी करिडोरको महत्वपूर्ण पूर्वाधार आयोजना अन्योलमै फसेको छ ।

डोल्पा न्यूज । २५ पुष २०८२, शुक्रबार ०५:५५