डाेल्पान्युज
मङ्सिरको अन्त्यसँगै पुसको कठाङ्ग्रिदो जाडो सुरु हुँदा हिमाली जिल्लाहरूमा खोलानाला सुक्दै गएका छन् । पानीको बहाव घटेसँगै यी क्षेत्रमा सञ्चालनमा रहेका लघुजलविद्युत आयोजना गम्भीर सङ्कटमा परेका छन् । यही समस्याबाट अछुतो रहन सकेन डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ मा अवस्थित छलगाड लघुजलविद्युत आयोजना पनि ।
असोज लाग्दै खोलामा पानीको बहाव घटेपछि त्रिपुराकोट, रल्ली गल्ली, करेलीकाँडा लगायत चार गाउँका बासिन्दा धिपधिपे उज्यालोमै रात कटाउन बाध्य थिए । बर्खायाममा छलगाड खोलाले विद्युत नहरको मुहान कटान गरेपछि उत्पादन ठप्पजस्तै हुने गरेको थियो ।
पछिल्लो समय नगरपालिकाको ध्यान नहरको मुहान मर्मत तथा सुधारतर्फ पुगेपछि अवस्था केही सहज बनेको छ । बर्खायाममा कटान भएको मुहान पालिकाको डोजर प्रयोग गरी मर्मत गरि खोलाको पानी नहरमा प्रवाह गरिएपछि विद्युत उत्पादन बढेको छ । त्यससँगै चार गाउँका बासिन्दाले फेरि मनलाग्दो उज्यालो बत्ती बाल्न पाएका छन् ।
नगरपालिकाको केन्द्र बगरबजार लगायतका बस्तीमा राष्ट्रिय प्रशारण लाइन पुगे पनि रल्ली गल्ली, करेलीकाँडा र त्रिपुराकोट गाउँमा राष्ट्रिय प्रशारणका लागि खम्बा गाडिएको करिब एक वर्ष पुग्न लाग्दासमेत विद्युत तार तानिएको छैन । यसले स्थानीयलाई अझै पनि लघुजलविद्युतमै निर्भर रहन बाध्य बनाएको छ ।
नगरप्रमुख जनचन्द्र रोकायाले स्थानीयको पटक–पटकको अनुरोध र जनताको हितलाई मध्यनजर गर्दै पालिका तथा सम्बन्धित वडाबाट आर्थिक तथा उपकरण सहयोग गर्दै आएको बताए । “छलगाड लघुजलविद्युतको मर्मत–सम्भारका लागि पालिकाले सक्दो सहयोग गर्दै आएको छ,” उनले भने ।
छलगाड लघुजलविद्युतका अपरेटर तथा म्यानेजर मोतिप्रसाद (कमल) हमालका अनुसार हरेक वर्ष बर्खायाममा मुहान कटान हुने र त्यसपछि करिब छ महिना अन्धकारमै बस्नुपर्ने बाध्यता छ । “मुहानदेखि उपकरणसम्मको मर्मत तथा जीर्णोद्धारका लागि यथेष्ट बजेटको अभाव छ,” उनले भने, “सम्बन्धित निकायबाट कनिका बजेटबाहेक दीर्घकालीन योजना सहितको बजेट व्यवस्थापन हुन सकेको छैन ।”
स्थानीयका अनुसार तत्काल मर्मतले राहत मिले पनि दीर्घकालीन समाधानका लागि मुहान संरक्षण, नहर सुधार र वैकल्पिक विद्युत आपूर्तिमा गम्भीर पहल आवश्यक देखिन्छ ।

डोल्पा न्यूज । २८ मंसिर २०८२, आईतवार ०८:०५