विष्णुप्रसाद देवकोटा
डोल्पा । नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनका लागि डोल्पाबाट ८ जना प्रतिनिधि सर्वसम्मत रूपमा छनोट गरिएको छ। शनिबार पार्टी जिल्ला कार्यालय डोल्पामा बसेको बैठकले विभिन्न पालिकाबाट सिफारिस भएर आएका उम्मेदवारहरूसँग पालिकाका इन्चार्ज, सचिवालय सदस्य, प्रदेश कमिटीका सदस्य तथा इच्छुक सबैसँग व्यापक परामर्श र छलफल गर्दै अन्ततः निर्विरोध रूपमा प्रतिनिधि टुंगो लगाएको हो।
महाधिवेशनका लागि काइके गाउँपालिकाबाट हाल कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री शेरबहादुर बुढा, मुड्केचुला गाउँपालिकाबाट जिल्ला अध्यक्ष लंकबहादुर रोकाया तथा गोपाल बि.क., त्रिपुरासुन्दरी नगरपालिकाबाट चन्द्रा कुमारी बुढा र बिश्वचन्द्र डसाल सिफारिस भएका छन्।त्यसैगरी शे–फोक्सुण्डो गाउँपालिकाबाट धावासम्दुक गुरुङ, जगदुल्ला गाउँपालिकाबाट जिल्ला उपसचिव जुनी बुढा तथा ठुलीभेरी नगरपालिकाबाट नन्दसिंह बुढा प्रतिनिधि छनोट भएकाे जिल्ला पाटी अध्यक्ष लंकबहादुर राेकायाले जानकारी दिए।
ठुलीभेरी नगरपालिका तर्फबाट नन्दसिंह बुढा र पूर्णबहादुर डाँगीको नाम सिफारिस भए पनि नगर कमिटी र जिल्ला नेतृत्वबीचको गम्भीर छलफलपछि बुढालाई सर्वसम्मत रूपमा अन्तिम सहमति गरिएको हो।
डोल्पामा यसपटक महाधिवेशन प्रतिनिधिहरू सर्वसम्मत रूपमा संस्थापन पक्ष, अध्यक्ष केपी शर्मा ओली समर्थकहरूबाट चयन भएको एमाले स्रोतले जनाएको छ।
यसैबीच, पार्टी अध्यक्षका आकांक्षी ईश्वर पोखरेलको समूह भने डोल्पाबाट प्रतिनिधिविहीन बनेको छ, जसलाई जिल्ला राजनीतिक वृत्तले संस्थापन पक्षको बलियो पकडको संकेतका रूपमा व्याख्या गरेको छ।
बृहत् छलफल र आन्तरिक सहमतिका आधारमा डोल्पाबाट ८ प्रतिनिधि चयन गरिएको एमाले डोल्पाले जनाएको छ। नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुँदैछ।

डोल्पा न्यूज । १३ मंसिर २०८२, शनिबार २२:०८