विष्णुप्रसाद देवकोटा
डोल्पा । समुदायको अपनत्व र स्वस्फूर्त सहभागिता नहुँदा डोल्पामा निर्माण गरिएका शैक्षिक तथा सामाजिक पूर्वाधारहरू दिर्घकालीन रूपमा टिकाउन समस्या देखिन थालेको छ। विद्यालय केन्द्रित भौतिक संरचना निर्माण भए पनि संरक्षण, मर्मतसम्भार र उपयोगमा स्थानीय चासो कमजोर हुँदा विकासको उद्देश्य नै जोखिममा परेको सरोकारवालाहरूले औँल्याएका छन्।
प्लान इन्टरनेशनल नेपाल र स्याक नेपालबीचको साझेदारीमा जिल्लाका विभिन्न शैक्षिक संस्थामा सञ्चालित परियोजनाअन्तर्गत निर्माण गरिएका संरचनाहरूमा समुदायको अपनत्व कमजोर देखिएको हो। ठूलीभेरी नगरपालिका–५ थरगाउँस्थित लक्ष्मी माध्यमिक विद्यालयमा किशोरी सशक्तीकरण परियोजनाअन्तर्गत निर्माण गरिएको बाल, अपाङ्गता तथा लैङ्गिकमैत्री शौचालय, महिनावारी आराम कक्ष, विद्यार्थी कर्नर र ई–लाइब्रेरीको स्थलगत अनुगमनपछि आयोजित समीक्षात्मक बैठकमा सहभागी सरोकारवालाले यही निष्कर्ष निकालेका हुन्।
बैठकमा स्वदेशी तथा विदेशी सहयात्री संस्थाहरूले सम्झौता अनुसार गुणस्तरीय काम गरेको भए पनि स्थानीय तहबाट आवश्यक संरक्षण, सम्वर्धन र जीर्णोद्धारको पहल नहुँदा संरचना छिट्टै जीर्ण हुने जोखिम बढेको बताइएको छ। उद्घाटनका दिनसम्म चिटिक्क देखिने संरचना त्यसपछिका दिनदेखि नै उपेक्षामा पर्ने प्रवृत्तिले विकासको प्रभावकारिता घटाएको सहभागीहरूको ठहर छ।
जिल्ला समन्वय समिति डोल्पाका प्रमुख श्यामबहादुर रोकायाले लक्ष्मी मावि प्रतिनिधि उदाहरण मात्र भएको र जिल्लाका अधिकांश शैक्षिक संस्थामा यही समस्या दोहोरिएको बताए। उनले भने, “आफ्नो गाउँ–ठाउँ र शैक्षिक संस्थामा हुने विकास योजनालाई आफ्नै ठानेर स्थानीयले जिम्मेवारी नलिँदासम्म दिगो विकास सम्भव हुँदैन। सहभागिता र अपनत्व बिना उद्घाटनपछि संरचना खुइलिँदै जानु स्वाभाविक हुन्छ।” उनले शैक्षिक पूर्वाधारसँगै अभिभावक र समुदाय लक्षित जनचेतना अभिवृद्धि कार्यक्रमलाई पनि परियोजनाको अनिवार्य अङ्ग बनाउनुपर्ने आवश्यकता औँल्याए।
प्लान इन्टरनेशनल नेपालका सन्तोष पुलामीले सहयात्री संस्थाहरूले स्थानीय सरकारसँगको सम्झौता अनुसार तोकिएको समयावधिसम्म मात्र काम गर्ने स्पष्ट पार्दै परियोजना सकिएपछि संरचना दीगो बनाउने प्रमुख जिम्मेवारी समुदाय र स्थानीय सरकारकै हुने बताए। “सहयोगी संस्था नमुना स्थापना गरेर फर्किन्छ, त्यसपछि त्यसलाई जोगाउने, उपयोग बढाउने र दीर्घकालीन बनाउने काम समुदायको सक्रियतामा निर्भर हुन्छ,” उनले भने।
सरोकारवालाहरूका अनुसार अबका विकास परियोजनामा भौतिक संरचना निर्माणसँगै समुदाय–नेतृत्व, स्थानीय स्वामित्व र दिगोपनालाई केन्द्रमा राखेर योजना तर्जुमा गर्न आवश्यक छ। अन्यथा, ठूलो लगानीका संरचना बने पनि अपेक्षित परिणाम नआउने र विकासको चक्र दोहोरिन नसक्ने चेतावनी उनीहरूले दिएका छन्।किशोरी सशक्तीकरण परियाेजना डाेल्पाका त्रिपुरासुन्दरी र ठूलिभेरी नगरपालिकामा संचालित छ ।यश परियाेजना अन्तर्गत दुई नगरपालिकाकाे क्षेत्रमा रहेका सम्पुर्ण विद्यालयमा शैक्षिक गुणस्तर विकास विस्तार लगायतका क्षेत्रमा काम गर्दै आइरहेको छ ।समिक्षात्मक बैठकमा शिक्षा समन्वय इकाई प्रमुख डाइमण्ड जी पुन,जिल्ला प्रशानका अक्कलबहादुर बडुवाल,स्याकका विनयकुमार थारु जिल्ला समन्वय सदस्य शान्तबहादुर राेकाया र संचारकर्मी विष्णुप्रसाद देवकोटाकाे सहभागिता थियाे ।
किशोरी सशक्तीकरण परियोजनाको वार्षिक समीक्षा सम्पन्न
यसैबीच जिल्ला स्तरीय परियोजना समन्वय सल्लाहकार समिति डोल्पाको वार्षिक समीक्षा बैठक समेत सम्पन्न भएको छ। जिसस डोल्पाका प्रमुख तथा समितिका अध्यक्ष श्यामबहादुर रोकायाको अध्यक्षतामा बैठक सम्पन्न भएकाे हाे ।बैठकमा BMZ को आर्थिक सहयोग, प्लान इन्टरनेशनल नेपालको साझेदारी र स्याक नेपालद्वारा सञ्चालित किशोरी सशक्तीकरण परियोजनाका गतिविधि तथा आर्थिक पक्षबारे समिक्षा गरिएको हो।
प्लान इन्टरनेशनल नेपाल डोल्पाका परियोजना विशेषज्ञ सन्तोष पुलामीले सन् २०२५ भित्र ठूलीभेरी र त्रिपुरासुन्दरी नगरपालिकामा सञ्चालित परियोजनाअन्तर्गत भएका क्रियाकलापबारे जानकारी गराए। उनका अनुसार पछिल्लो एक वर्षमा १९ वटा सामुदायिक विद्यालय, समुदाय र स्वास्थ्य संस्थामा ५ वटा बाल तथा अपाङ्गता मैत्री शौचालय, १५ वटा सुरक्षित महिनावारी कक्ष, १५ वटा किशोर–किशोरी सूचनामैत्री कर्नर निर्माणका साथै शिक्षक र स्वास्थ्यकर्मीलाई तालिम सञ्चालन गरिएको छ।
परियोजनाबाट छात्राको उपस्थितिमा सुधार, आत्मविश्वास र नेतृत्व क्षमतामा वृद्धि तथा सेवामा पहुँच बढेको जनाइएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख रोकायाले निर्माण भएका संरचना र क्रियाकलापको संरक्षण तथा निरन्तरताको दायित्व स्थानीय सरकारको हुने बताउँदै परियोजनाको प्रभाव तथ्यांकसहित देखिनुपर्नेमा जोड दिए।

डोल्पा न्यूज । ३ पुष २०८२, बिहीबार १०:२८