ताजा समाचार

डोल्पामा तीनदिने निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर, दुर्गमका नागरिकलाई प्राथमिकता

विष्णुप्रसाद देवकोटा

डोल्पा ।

स्वास्थ्य सेवाबाट लामो समयदेखि बञ्चित डोल्पाका दुर्गम बस्तीका नागरिकलाई लक्षित गर्दै सदरमुकाम दुनैमा तीनदिने निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। गोरखा वेल्फेयर ट्रष्ट नेपालको सहयोगमा जिल्ला अस्पताल डोल्पामा माघ २१ गतेदेखि २३ गतेसम्म विशेष स्वास्थ्य शिविर आयोजना हुन लागेको हो।

शिविरमा अपाङ्गता नापजाँच, फिजियोथेरापी, कृत्रिम अङ्ग तथा सहयोगी सामग्री वितरण, कानसम्बन्धी विशेषज्ञ परीक्षण, श्रवण यन्त्र वितरण तथा आवश्यक शल्यक्रिया सेवा समेत प्रदान गरिने गोरखा वेल्फेयर ट्रष्ट नेपालले जनाएको छ। दुर्गम भूगोलका कारण नियमित उपचारबाट वञ्चित भएका नागरिकलाई शिविरले प्रत्यक्ष राहत पुर्‍याउने अपेक्षा गरिएको छ।

शिविरको प्रभावकारी सञ्चालन र बिरामी छनोट सुनिश्चित गर्न बुधबार दुनैमा जिल्लाका आठवटै स्थानीय तहका जनप्रतिनिधि, स्वास्थ्य शाखाका प्रतिनिधि तथा सम्बन्धित निकायबीच छलफल तथा अन्तरक्रिया गरिएको छ। वडा तहबाटै वास्तविक र प्राथमिकताका बिरामी पहिचान गर्ने विषयमा प्रशिक्षणसमेत दिइएको छ।

जिल्ला समन्वय समिति डोल्पाका प्रमुख श्यामबहादुर रोकायाले सबै वडा तहका बिरामी समेटिने गरी निष्पक्ष छनोट गर्न आग्रह गर्दै विशेषज्ञ स्वास्थ्य सेवा राज्यको पहुँच बाहिर रहेका नागरिकसम्म पुर्‍याउनु साझा दायित्व भएको बताए।

स्थानीय तह अनुसार सेवा समय निर्धारण

शिविरका दिन फरक–फरक स्थानीय तहका बिरामीलाई सेवा दिइनेछ।

माघ २१ गते डोल्पोबुद्ध, शे–फोक्सुण्डो र मुड्केचुला गाउँपालिकाका बिरामीको जाँच तथा उपचार हुनेछ।

माघ २२ गते छार्काताङसोङ गाउँपालिका र त्रिपुरासुन्दरी नगरपालिकाका बिरामीलाई सेवा दिइनेछ।

माघ २३ गते अन्तिम दिन ठूलीभेरी नगरपालिका र काइके गाउँपालिकाका बिरामीको जाँच तथा उपचार गरिनेछ।

शिविरबाट थप उपचारका लागि रिफर गरिएका बिरामीको हकमा पायक पर्ने सहरका अस्पतालमा गोरखा वेल्फेयर ट्रष्ट नेपालले आफैं उपचारको व्यवस्था गर्ने जनाएको छ। यो शिविरले डोल्पामा विशेषज्ञ स्वास्थ्य सेवाको पहुँच विस्तार गर्दै दुर्गम नागरिकको जीवनस्तर सुधारमा महत्वपूर्ण योगदान गर्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया