डोल्पा । सर्वोच्च अदालतबाट १० वर्ष कैद सजाय ठहर भइसकेका फरार अभियुक्त ओमबहादुर शाहीलाई जिल्ला प्रहरी कार्यालय डोल्पाको टोलीले पक्राउ गरेको छ।
बुद्धराम कुलालको जाहेरीका आधारमा नेपाल सरकार प्रतिवादी तथा ओमबहादुर शाही प्रतिवादी भएको विष खुवाई कर्तव्य ज्यान तथा ज्यान मार्ने उद्योग मुद्दामा सर्वोच्च अदालतले २०८१ साल माघ २१ गते फैसला गर्दै शाहीलाई १० वर्ष कैद, ५० हजार रुपैयाँ क्षतिपूर्ति र १ हजार ८ सय रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने ठहर गरेको थियो। उक्त फैसला अनुसार शाही फरार रहेका थिए।
फरार अभियुक्त शाही जिल्ला डोल्पा त्रिपुरासुन्दरी नगरपालिका वडा नं. १ का स्थायी बासिन्दा हुन्। उनलाई २०८२ साल माघ ९ गते दिउँसो १२ः३० बजेको समयमा जिल्ला प्रहरी कार्यालय डोल्पाबाट खटिएको प्रहरी टोलीले जिल्ला ललितपुर महानगरपालिका वडा नं. २, सानेपा चोकबाट पक्राउ गरेको हो।
पक्राउपछि फैसला कार्यान्वयनका लागि अभियुक्त शाहीलाई २०८२ साल माघ ११ गते सम्मानित ललितपुर जिल्ला अदालत, लगनखेलमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ।सर्वोच्च अदालतको फैसला कार्यान्वयन प्रक्रियाअनुसार आवश्यक कानुनी कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय डाेल्पाका प्रहरी निरीक्षक तथा सुचना अधिकारी टाेपेन्द्र बुढामगरले जानकारी दिए ।।

डोल्पा न्यूज । ११ माघ २०८२, आईतवार २१:०६