ताजा समाचार

डाेल्पकाे त्रिपुरासुन्दरी-२स्थित महादेव मध्यवर्ती क्षेत्रकाे सार्वजनिक सुनुवाइ सम्पन्न 

डाेल्पान्युज

डोल्पा । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज अन्तर्गतकाे महादेव मध्यवर्ती क्षेत्र उपभोक्ता समिति, त्रिपुरासुन्दरी नगरपालिका-२ ले स्थानीय सरोकारवालाको सहभागितामा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ।समितिमा आम्दानी र माैज्दात केही नभएपनि निकुञ्जबाट विभिन्न समयमा संचालन गरिएका सचेतनामुलक कार्यक्रमका बारेमा जानकारी गराइएकाे थियाे ।

वन्यजन्तु संरक्षण, जैविक विविधता जगेर्ना तथा पर्यावरण सन्तुलन कायम गर्दै स्थानीय समुदायको सक्रिय सहभागिता सुनिश्चित गर्नु कार्यक्रमकाे मुख्य उद्देश्य रहेको समितिले जनाएको छ। सार्वजनिक सुनुवाइमा उपभोक्ता समितिले  हालसम्म गरेका गतिविधि, संरक्षणका क्रममा देखिएका चुनौती तथा आगामी कार्ययोजनाबारे विस्तृत जानकारी गराएको थियो।

सुनुवाइमा हिमचितुवा, कस्तुरी मृग, नाउर लगायत दुर्लभ वन्यजन्तुको संरक्षण, अवैध सिकार तथा चोरी–निकासी नियन्त्रण, वन डढेलो न्यूनीकरण, चरन व्यवस्थापन र प्राकृतिक स्रोतको दिगो उपयोग जस्ता विषयमा विशेष छलफल गरिएको समितिका अध्यक्ष बल बहादुर बुढाले जानकारी दिए।हिमाली जिल्लामा जलवायु परिवर्तनका कारण देखिन थालेका असर र त्यसबाट वातावरण जोगाउन स्थानीय तहले चाल्नुपर्ने कदमबारे पनि सहभागीहरूले सुझाव दिएका थिए।

संरक्षणका नाममा आफ्नो जीवनशैली र जीविकोपार्जनमा परेको असरबारे आवाज उठाउँदै संरक्षण र विकासबीच सन्तुलन आवश्यक रहेको धारणा राखे। उनीहरूले वैकल्पिक जीविकोपार्जन, पर्यटन प्रवर्द्धन र संरक्षणमैत्री कार्यक्रममार्फत स्थानीयलाई प्रत्यक्ष लाभ पुग्ने व्यवस्था गर्न माग गरेका छन्।

कार्यक्रममा जनप्रतिनिधि, उपभोक्ता समूहका पदाधिकारी, महिला तथा युवाको उल्लेखनीय सहभागिता रहेको भएपनि निकुञ्ज प्रशासनकाे सहभागिता भने थिएन । सहभागीहरूले सार्वजनिक सुनुवाइले पारदर्शिता, जवाफदेहिता र समुदाय–निकुञ्जबीचको विश्वास बलियो बनाउने विश्वास व्यक्त गरेकाे त्रिपुरासुन्दरी नगरका न्यायिक समिति सदस्य रणबहादुर बुढाले बताए ।

तपाईको प्रतिक्रिया