ताजा समाचार

दुनैबजारमा भैरबी (भेरी) नदी किनार सरसफाइ, तर दीर्घकालीन व्यवस्थापन अझै चुनौती

विष्णुप्रसाद देवकोटा

डाेल्पा।

डोल्पाको सदरमुकाम दुनैबजारसँगै बग्ने भैरबी (भेरी) नदी किनारमा थुपारिएको फोहोरको सरसफाइ गरिएको छ।

ठुलीभेरी नगरपालिका नगरप्रमुख सुवर्ण बुढाको अगुवाइमा नागरिक समाज, समाजसेवी, राष्ट्रसेवक कर्मचारी तथा स्थानीयको सहभागितामा सरसफाइ  गरिएको हो।

लामो समयदेखि जथाभावी रूपमा फोहोर नदीमै फाल्ने प्रवृत्तिले दुनैबजारको पहिचान बोकेको भैरबी (भेरी) नदी दिनानुदिन कुरुप बन्दै गएको छ। विशेषगरी बजार क्षेत्रको ढल निकासका लागि वैकल्पिक संरचना नहुँदा नदी नै एकमात्र ढल निकास मार्ग बनेको छ, जसले सरसफाइ र वातावरण संरक्षणमा गम्भीर चुनौती थपेको छ।

ठुलीभेरी नगरपालिकाले केही वर्ष अघिदेखि बजारमा संकलित फोहोर ट्याक्टरमार्फत उठाई बजारबाट करिब आधा किलोमिटर टाढा लगेर लामालाेटेस्थित भेरी नदीमै सेलाउने तथा जलाउने अभ्यास गर्दै आएको छ। यद्यपि यो उपाय अस्थायी मात्र भएको सरोकारवालाहरू बताउँछन्। फोहोरको दीर्घकालीन व्यवस्थापन, वैज्ञानिक निस्तारण स्थलको व्यवस्था र ढल व्यवस्थापन प्रणाली निर्माणतर्फ स्थानीय सरकार तथा सरोकारवाला निकायको ध्यान अझै पुग्न सकेको छैन।

कहिलेकाहीँ मात्र गरिने आकस्मिक सरसफाइले नदी र बजारको समग्र समस्या समाधान गर्न नसक्ने पत्रकार लेख बुढाले बताए ।  उनले भने फोहोर स्रोतमा नै वर्गीकरण, नियमित संकलन प्रणाली, ढल प्रशोधन केन्द्र निर्माण र जनचेतना अभिवृद्धि जस्ता दीर्घकालीन उपाय आवश्यक छ ।

स्थानीय सरकार, सरोकारवाला निकाय र नागरिकको साझा पहल बिना भैरबी (भेरी) नदी संरक्षण सम्भव नहुने भन्दै अब नियमित र योजनाबद्ध सरसफाइसँगै स्थायी फोहोर तथा ढल व्यवस्थापन प्रणाली निर्माण गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।

तपाईको प्रतिक्रिया