विष्णुप्रसाद देवकोटा
जिल्लामा निर्वाचन सुरक्षाबारे सर्वदलीय–सर्वपक्षीय अन्तरक्रिया सम्पन्न भएकाे छ ।
जिल्ला सुरक्षा समिति, राजनीतिक दल तथा प्रतिनिधि सभासदस्य उम्मेदवारहरूबीच जिल्ला प्रशासन कार्यालयमा निर्वाचन सुरक्षासम्बन्धी सर्वदलीय–सर्वपक्षीय छलफल तथा अन्तरक्रिया सम्पन्न भएको हाे। आगामी निर्वाचनलाई सुरक्षित, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने विषयमा छलफल अन्तरक्रिया गरेकाे हाे।
मुख्य निर्वाचन अधिकृत चन्द्रदेव भारतीले डोल्पाको विकट भूगोल र भाषिक चुनौतीका बाबजुद अनुभवी जनशक्तिलाई प्राथमिकता दिइने, माघ १ गतेदेखि नेपाली सेनाको गस्ती सुरु हुने जानकारी दिए। उनले सार्वजनिक स्थलमा गोष्ठी तथा आमसभा गर्न नपाइने स्पष्ट पार्दै आचारसंहिता कडाइका साथ लागू गरी निर्वाचनलाई निष्पक्ष, धाँधलीरहित र राष्ट्रिय उत्सवको रूपमा सम्पन्न गर्नुपर्ने उनले बताए।
नेपाली कांग्रेसका पाटी सचिव हिक्मत शाहीले डोल्पाको कठिन भौगोलिक अवस्था विशेषगरी उपल्लो डोल्पामा सूचना प्रवाह र पत्रकारको उपस्थिती सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याउँदै सुरक्षित वातावरणमा निर्वाचन गराउन प्रतिबद्धता जनाए।
नेकपा एमालेका प्रतिनिधि सभासदस्य उम्मेदवार लंकबहादुर रोकायाले निर्वाचनमा सिसी क्यामेरा र सञ्चारकर्मीको उपस्थिती अनिवार्य हुनुपर्ने, आचारसंहिता पूर्ण रूपमा कार्यान्वयन गरिनुपर्ने र सुरक्षा निकाय निष्पक्ष रहनुपर्ने बताए। उनले जिल्लामा सुरक्षा चुनौती रहेकाले जिल्ला सुरक्षा समितिले मजबुत वातावरण सृजना गर्नुपर्ने धारणा राखे।
प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले संवेदनशील विषय पहिचान भइसकेको जनाउँदै कानुनी आधार, जनशक्ति र क्षमताको अधिकतम प्रयोग गर्दै आगामी कार्ययोजना तयार गरिने बताइन्। उनले निर्वाचन सफल बनाउन सबै पक्षको सकारात्मक सहयोग र सुझाव आवश्यक रहेको उल्लेख गरिन्।
जिल्ला समन्वय समिति प्रमुख श्यामबहादुर रोकमयाले मतदाताले सुरक्षा अनुभूति नगरे सहभागिता घट्न सक्ने भन्दै मताधिकार प्रयोग गर्न सक्ने वातावरण निर्माण गर्नुपर्ने बताए।
कार्यक्रममा सुरक्षा समिति सदस्य जिल्ला प्रहरी कार्यालयका डिएसपी रुकबहादुर खड्का,सशस्त्र प्रहरीका डिएसपी दिपकराज भट्ट सार्दुल संग्राम गुल्मका मेजर हरिश शाही जिल्ला निर्वाचन अधिकृत दिलकृष्ण श्रेष्ठ लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा उम्मेदवार र संचारकर्मीहरुकाे सहभागिता रहेकाे थियाे ।
आगामी निर्वाचनलाई सुरक्षित, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नु सबै सरोकारवालाको साझा दायित्व भएको ठहर गरिएको छ।
कार्यक्रममा सहभागी राजनीतिक दल, सञ्चारकर्मी र नागरिक समाजले सुरक्षा निकाय पूर्ण रूपमा तटस्थ, निष्पक्ष र निर्भिक भएर कानुनअनुसार आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्नेमा एकमत जनाएका छन्।

डोल्पा न्यूज । ७ माघ २०८२, बुधबार १४:४५