ताजा समाचार
चार हजारभन्दा बढी नागरिक मतदानबाट वञ्चित हुने गम्भीर जोखिम

निर्वाचनको मितिले खोसिँदै माथिल्लो डोल्पालीको मताधिकार

निर्वाचनको मितिले खोसिँदै माथिल्लो डोल्पालीको मताधिकार

विष्णुप्रसाद देवकोटा

प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा हिमाली जिल्ला डोल्पामा गम्भीर र संवैधानिक प्रश्न उभिएको छ । माथिल्लो डोल्पाका नागरिकले यसपटक मतदान गर्न पाउँछन् कि पाउँदैनन् ?

जिल्ला निर्वाचन कार्यालय डोल्पाका अनुसार आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा जिल्लाभर २४ हजार १ सय १५ मतदाता सहभागी हुनेछन् । तर यही तथ्यांकभित्र लुकेको यथार्थ झनै चिन्ताजनक छ । माथिल्लो डोल्पाका करिब ४ हजार ३ सय ६६ मतदाता निर्वाचन प्रक्रियाबाट बाहिरिन सक्ने अवस्था बनेको छ ।

मतदाता नामावलीमा नाम, मतदान स्थलमा शून्यता

शे–फोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकाका बासिन्दा हरेक वर्ष हिउँद याममा मौसमी बसाइँसराइ गर्न बाध्य छन् । कात्तिक अन्त्यदेखि चैत अन्त्यसम्म अत्यधिक चिसो, निरन्तर हिमपात र सडक तथा पैदल मार्ग अवरुद्ध हुने अवस्थाका कारण उनीहरू तल्लो डोल्पा वा तराईका जिल्लातर्फ झर्छन् ।

यस वर्ष पनि अवस्था फरक छैन । कात्तिक–मंसिरमा परेको भारी हिमपातले माथिल्लो डोल्पाका सबै नाका र पैदल मार्ग बन्द छन् । गाउँमा स्थायी रूपमा बसोबास गर्न नसक्ने अवस्था बनेपछि अहिले माथिल्लो डोल्पाका मतदान केन्द्रहरू भौतिक रूपमा त छन्, तर व्यवहारमा मतदाता शून्य जस्तै बनेका छन् ।

निर्वाचन राज्यको दायित्व कि मौसमको बन्दी ?

संविधानले प्रत्याभूत गरेको मतदान अधिकार भूगोल र मौसमका कारण कुण्ठित हुन मिल्दैन । तर फागुन २१ को निर्वाचन मितिले माथिल्लो डोल्पाली नागरिकलाई व्यवहारिक रूपमा मताधिकार प्रयोग गर्न असम्भव बनाइदिएको देखिन्छ ।

शे–फोक्सुण्डो गाउँपालिकाका अध्यक्ष धावा सम्दुक गुरुङ भन्छन्,“माथिल्लो डोल्पाका नागरिक पनि राज्यकै नागरिक हुन् । मतदान गर्न नसक्ने अवस्था सिर्जना हुनु राज्यको गम्भीर असफलता हो । यदि यही मितिमा निर्वाचन हुन्छ भने वैकल्पिक व्यवस्था अनिवार्य छ ।”

स्थानीय बासिन्दाका अनुसार निर्वाचन सामग्री र कर्मचारी हेलिकप्टरमार्फत पुर्‍याउन सकिए पनि मतदाता स्वयं गाउँ फर्केर मतदान गर्न सक्ने अवस्था छैन । यस्तो अवस्थामा निर्वाचन प्राविधिक रूपमा सम्पन्न भए पनि लोकतान्त्रिक रूपमा अपूरो हुने उनीहरूको बुझाइ छ ।

मतदान गर्न ५० हजार खर्चेर गाउँ फर्कन सकिँदैन’

शे–फोक्सुण्डो गाउँपालिकाका उपाध्यक्षसमेत रहेका सचेत युवा पेम्मा वाङ्छेन गुरुङका अनुसार निर्वाचनका लागि फागुन महिना माथिल्लो डोल्पाका लागि अत्यन्त प्रतिकूल समय हो ।

“यत्तिखेर हिमपातका कारण अत्यधिक जाडो छ, सबै नाका बन्द छन् । करिब ३० देखि ४० प्रतिशत मतदाता काठमाडौंलगायत शहरी क्षेत्रमा झरेका छन् । मतदान गर्नकै लागि ५० हजार रुपैयाँभन्दा बढी खर्च गरेर गाउँ फर्कन कसैले सक्दैन,” उनी भन्छन् ।

गुरुङका अनुसार गाउँमै रहेका कतिपय मतदाता पनि कठोर मौसम र दुरीका कारण मतदान केन्द्रसम्म जान सक्दैनन् ।

“सरकारले ठाउँ विशेष र भूगोल हेरेर निर्वाचन मिति तय गर्नुपर्थ्यो । यसरी प्रतिकूल समयमा मिति तोकेर निर्वाचन गराउन खोज्नु नागरिकलाई मताधिकारबाट वञ्चित गराउनु सरह हो,” उनले बताए ।

लोकतन्त्रमा सहभागी हुन नपाउने हिमाली नागरिक

माथिल्लो डोल्पाका नागरिकको समस्या केवल भौगोलिक मात्र होइन, नीतिगत उपेक्षाको परिणाम पनि हो । निर्वाचन मिति तय गर्दा हिमाली क्षेत्रको मौसमी जीवनशैली र भौगोलिक यथार्थलाई बेवास्ता गर्दा हजारौँ नागरिकको मत खारेज हुने अवस्था सिर्जना भएको छ ।

समयमै राज्यले निर्वाचन मिति पुनर्विचार, अग्रिम मतदान, अस्थायी मतदान केन्द्र वा बसाइँसराइ गरेका स्थानमै मतदानको व्यवस्था नगरेमा यो निर्वाचनले माथिल्लो डोल्पाली नागरिकलाई फेरि एकपटक लोकतन्त्रको दर्शक मात्र बनाउनेछ ।

आज प्रश्न राज्यतर्फ तेर्सिएको छ ।“हामी मतदाता होइनौँ कि मौसमले मात्र छुट्याइएका नागरिक हौँ ?”अब निर्वाचन केवल मत खसाल्ने प्रक्रिया मात्र होइन, सबै नागरिकलाई समान अधिकार सुनिश्चित गर्ने राज्यको गम्भीर परीक्षा बनेको छ ।

तपाईको प्रतिक्रिया