विष्णुप्रसाद देवकोटा
डोल्पा । नागरिक स्वास्थ्यलाई प्रत्यक्ष जोखिममा पार्ने असुरक्षित खानेपानी प्रयोग अन्त्य गर्ने उद्देश्यसहित त्रिपुरासुन्दरी नगरपालिकाले पुस १४ गतेदेखि पालिकास्तरीय निःशुल्क खानेपानी गुणस्तर परीक्षण शिविर सञ्चालन गर्ने भएको छ।
नगरपालिकाको वास इकाइ (सुरक्षा) शाखाको संयोजनमा सुरु हुने यो अभियानले सबै वडाका खानेपानी स्रोतको वास्तविक अवस्था मूल्याङ्कन गर्दै जोखिम न्यूनीकरणमा हस्तक्षेप गर्ने लक्ष्य लिएको छ।
मुहान, धारा, ट्यांकी तथा घरमा पानी भर्ने भाँडोसम्मको पानी परीक्षण गरेर कुन स्रोत सुरक्षित छ र कुन जोखिमपूर्ण भन्ने तथ्य पहिचान गरिने वास सल्लाहकार विष्णु बाेहाेराले जानकारी दिए ।बाेहाेराका अनुसार परीक्षण केवल औपचारिकता नभई स्वच्छ पानी प्रयोगमा नागरिकलाई सचेत गराउने र सुधार आवश्यक स्थानमा तत्काल कदम चाल्ने आधार बनाइने छ।
नगरपालिकाले खानेपानी उपभोक्ता समिति, सरोकारवाला निकाय र स्थानीय समुदायलाई नमुना संकलन तथा शिविर सञ्चालनमा सक्रिय सहभागिता जनाउन आग्रह गरेको छ।
अभियानको मुख्य उद्देश्य असुरक्षित पानीका कारण फैलिन सक्ने जलजन्य रोग नियन्त्रण गर्नु, सुरक्षित पानीको प्रयोग सुनिश्चित गर्नु र दीगो खानेपानी व्यवस्थापनतर्फ समुदायलाई जिम्मेवार बनाउनु रहेको छ।
पुस १४ देखि २१ गतेसम्म सञ्चालन हुने शिविर पालिकाभित्रका सबै खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका योजनामा लागू हुनेछ। वडा–वडामा तोकिएका स्थान र मितिमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म शिविर सञ्चालन गरिने नगरपालिकाले जनाएको छ।
याे अभियानलाई ‘स्वच्छ पानी, सुरक्षित जीवन’ को आधार तयार गर्ने निर्णायक कदमका रूपमा लिइने वास सल्लाहकार बाेहराकाे भनाई छ ।
कुन वडामा कहिले हुदैछ शिवर हेर्नुहाेस सुचना तालिका

डोल्पा न्यूज । ११ पुष २०८२, शुक्रबार १८:३४