विष्णुप्रसाद देवकोटा
डोल्पा । डोल्पा जिल्लाको ठुलिभेरी नगरपालिका–३ मा पर्ने नेपाल आर्मीको सुलिगाड चेकपोष्टमा कार्यरत एक नेपाली सेनाका जवानले मादक पदार्थ सेवन गरी सर्वसाधारणमाथि कुटपिट गरेको आरोप लागेको छ। कुटपिटबाट एक जना युवा घाइते भएका छन्।
घटना पुस ३ गते बेलुकी करिब साढे ६ बजे भएको हो। संग्राम सार्दुल गुल्म, सुलिगाडमा कार्यरत सुरज भनिने नेपाली सेनाका जवानले ठुलिभेरी नगरपालिका–६ निवासी ओमप्रसाद रोकायालाई कुटपिट गरेको पीडितको आरोप छ।
पीडित रोकायाका अनुसार सुलिगाड चेकपोष्टमा गाडी चेकजाँच भइरहेको अवस्थामा दुनैबाट मादक पदार्थ सेवन गरी आएका ती सैनिक जवानले बिना कारण उनलाई गाडीबाट बाहिर निकालेर दादागिरी शैलीमा कुटपिट गरेका थिए। कुटपिटका क्रममा “मारिदिन्छु” भन्दै ज्यान मार्ने धम्कीसमेत दिएको पीडितको भनाइ छ।
कुटपिटबाट रोकायाको दायाँ घुँडा, हात र कम्मर (वङ्गारा) मा गम्भीर चोट लागेको छ। जिल्ला अस्पताल डोल्पामा प्रारम्भिक उपचारपछि थप उपचारका लागि उनलाई जिल्ला बाहिर रिफर गरिएको छ। ज्यान जोखिममा परेको भन्दै उपचार र सुरक्षाको मागसहित उनले जिल्ला प्रहरी कार्यालय डोल्पामा निवेदन दिएका छन्।
घटनासँग सम्बन्धित भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भइसकेको छ। घटनाबारे बुझ्न सुलिगाडस्थित संग्राम सार्दुल गुल्ममा सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन।
यस विषयमा जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख डिएसपी रुकबहादुर खड्काले मादक पदार्थ सेवन गरी कुटपिट गर्ने सैनिक जवानविरुद्ध पीडितको निवेदन परेको पुष्टि गरे। उनले घटनामा संलग्न सैनिक जवानलाई कारबाहीका लागि गुल्मपतिलाई आग्रह गरिएको र सैनिक नियमानुसार प्रक्रिया अगाडि बढिसकेको जानकारी दिए।
डिएसपी खड्काका अनुसार कुटपिटबाट घाइते रोकायाको सम्पूर्ण उपचार खर्चसमेत सम्बन्धित सैनिक जवानले नै व्यहोर्ने गरी नेपालगन्ज रिफर गरिएको छ। “पहिला उपचार, त्यसपछि कारबाही भन्ने मान्यताअनुसार प्रक्रिया अघि बढाइएको हो,” उनले भने।
घटनाबारे नेपाली सेना र सम्बन्धित निकायको आधिकारिक धारणा आउन बाँकी छ।

डोल्पा न्यूज । ४ पुष २०८२, शुक्रबार १८:१६