विष्णुप्रसाद देवकोटा
डाेल्पा।
डोल्पा सदरमुकाम दुनै बजारमा युवालाई सीपमार्फत रोजगारीतर्फ जोड्ने उद्देश्यसहित एक महिने ड्राइभिङ तालिम सुरु गरिएको छ। उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय, दुनै डोल्पाको आयोजनामा तालिम शुरु भएकाे हाे ।मंगलबार औपचारिक रुपमा शुरु भएकाे तालिमको
उद्घाटन जिल्ला समन्वय समिति डोल्पाका प्रमुख श्याम बहादुर रोकाया गरेका हुन ।उद्घाटन कार्यक्रममा बाेल्दै समन्वय प्रमुख राेकायाले तालिम केवल सर्टिफिकेटका लागि नभई भविष्यको रोजगारी र जिम्मेवारीको आधार बन्न सक्ने उल्लेख गरे।
डोल्पाका विभिन्न स्थानसम्म बिस्तारै सडक तथा यातायातको पहुँच विस्तार भइरहेकाले ड्राइभिङ सीप हासिल गरेका युवाका लागि आगामी दिनमा राम्रो अवसर सिर्जना हुने उनको भनाइ थियो। प्रमुख रोकायाले प्रशिक्षार्थीहरुलाई इमानदारी, अनुशासन र लगनशीलताका साथ तालिम अवधिभर सीप सिक्न आग्रह गरे।
कर्णाली प्रदेश सरकारको कार्यविधि अनुसार ड्राइभिङ सिक्न इच्छुक युवाका लागि सूचना प्रकाशित गरी आवेदन संकलन गरिएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दुनै डोल्पाका कार्यालय प्रमुख खिम प्रकाश शाहले जानकारी दिए। जिल्लाका विभिन्न स्थानबाट आवेदन दिएका युवाहरूमध्ये स्वास्थ्य परीक्षण र अन्तर्वार्तामार्फत १८ जनालाई तालिममा छनोट गरिएको उनले बताए।
युवाले ड्राइभिङलाई रोजगारीको माध्यम बनाउन सक्ने विश्वास व्यक्त गर्दै शाहले तालिम अवधिलाई “आफ्नै भविष्यका लागि लगानी” सम्झेर पूर्ण जिम्मेवारीका साथ सीप सिक्नु पर्ने बताए ।
उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति डोल्पाका प्रमुख श्याम बहादुर रोकाया, ठुलीभेरी नगरपालिका डोल्पाका उप–प्रमुख छिरिङ टोल्मा महत, ठुलीभेरी नगरपालिका–३ का वडा अध्यक्ष भक्त बहादुर भण्डारी लगायत सरोकारवालाहरुको उल्लेखनीय सहभागिता रहेको थियो।
डोल्पामा सीप, सडक र सम्भावनालाई जोड्ने यस किसिमका तालिम कार्यक्रमले स्थानीय युवालाई वैदेशिक रोजगारीको विकल्प खोज्नुपर्ने बाध्यताबाट केही हदसम्म मुक्त गराउने अपेक्षा गरिएको छ।

डोल्पा न्यूज । १६ पुष २०८२, बुधबार १९:३७