ताजा समाचार

डोल्पामा कृषि उत्पादन प्रदर्शनी सम्पन्न, उत्कृष्ट कृषक सम्मानित

विष्णुप्रसाद देवकोटा डाेल्पा।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत कार्यक्रम कार्यान्वयन इकाई डोल्पाको आयोजनामा सदरमुकाम दुनै बजारमा आयोजित ‘कृषि उत्पादन प्रदर्शनी’ सफलतापूर्वक सम्पन्न भएको छ। वार्षिक स्वीकृत कार्यक्रमअनुसार भएको प्रदर्शनीमा जिल्लाका विभिन्न कृषकहरूले आफ्नाे फलफूल, तरकारी, बीउजन्य तथा कृषिजन्य विविध उत्पादन आकर्षक ढङ्गले प्रदर्शन गरेका थिए।

कृषकहरूले प्रदर्शनीमा राखेका उत्पादनहरूको अनुगमन तथा मूल्यांकन समितिले अवलोकन गरी उत्कृष्ट स्थान हासिल गर्ने कृषकहरूलाई नगद पुरस्कारसहित सम्मान गरेको छ।
त्रिपुरासुन्दरी नगरपालिका–३ का सुनदह फलफूल तथा नर्सरी उद्यमका कृषक रणजित बोहोरा प्रथम, त्रिपुरासुन्दरी–४ पवन जडीबुटी तथा बीउ उद्योगका ज्ञानबहादुर बोहोरा द्वितीय, र ठुलीभेरी नगरपालिका–११ फुनाल्दुवा कृषि तथा फलफूल उद्योगकी राममती कार्की तृतीय बनेका छन्।

त्यस्तै प्रोत्साहन पुरस्कार प्राप्त गर्नेमा ठुलीभेरी नगरपालिका–७ का तिलकजंग शाही, काईके गापा–७ की सीता बुढा रोकाया, ठुलीभेरी नगरपालिका–२ की नन्दालक्ष्मी क्षेत्री, र ठुलीभेरी–१० का हिरालाल कार्की रहेका छन्।

विजेता किसानहरूलाई प्रथम, द्वितीय र तृतीय स्थानअनुसार क्रमशः रु ९ हजार, रु ७ हजार, रु ५ हजार तथा अन्य सहभागी किसानहरूलाई रु २ हजार सहित प्रमाणपत्र प्रदान गरिएको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन इकाई डोल्पाका कार्यालय प्रमुख गोविन्दबहादुर मल्लले जानकारी दिए।
उनकाे अनुसार यस्तो प्रदर्शनीले किसानहरूमा मनोबल वृद्धि हुनुका साथै परस्पर चिनजान, सीप आदान–प्रदान र उत्पादनको प्रचार–प्रसारमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

यसैबीच, डोल्पा जिल्लाका स्याउ जोनअन्तर्गत रहेका कृषकहरूको भेलाले शैलेश बुढाको संयोजकत्वमा स्याउ जोन सञ्चालन समन्वय समिति पुनर्गठन गरेको छ। प्रदर्शनी कार्यक्रमको अनुगमन जिल्ला समन्वय समिति डोल्पाका प्रमुख श्यामबहादुर रोकाया, नागरिक समाज डोल्पाका अध्यक्ष शेरबहादुर बुढा लगायत सरोकारवाला निकायका प्रतिनिधिहरूले गरेका थिए।

तपाईको प्रतिक्रिया