ताजा समाचार

जुम्लामा अटो व्यवसायीको विद्रोह : रुट परमिटको नाममा दमन कहिलेसम्म ?

डाेल्पान्युज

जुम्ला । जुम्ला जिल्लामा लामो समयदेखि विधिवत् रूपमा अटो व्यवसाय सञ्चालन गर्दै आएको भैरवनाथ यातायात सेवा प्रा.लि., जुम्ला ले संघ तथा प्रदेशका पूर्व, निर्वतमान र बहालवाला माननीयहरूलाई सम्बोधन गर्दै खुला पत्र सार्वजनिक गरेको छ।

२२ पुस ०८२ मा जारी खुला पत्रमार्फत कम्पनीले रुट परमिटको नाममा भइरहेको दुरव्यवहार, प्रशासनिक दमन र अव्यवहारिक ट्राफिक जरिवानाप्रति गम्भीर आपत्ति जनाएको छ। पत्रमा जुम्लाको विकासका नाममा सडक, पूर्वाधार, स्वास्थ्य, शिक्षा, सञ्चार र यातायात क्षेत्रमा योगदानको जस राजनीतिक रूपमा लिइँदै आए पनि, त्यही सडक प्रयोग गरेर ससाना व्यवसायीलाई सहज रूपमा व्यवसाय गर्न नदिइएको आरोप लगाइएको छ।कम्पनीका अध्यक्ष लक्ष्मण सुनारद्वारा हस्ताक्षरित खुला पत्रअनुसार भैरवनाथ यातायात सेवा प्रा.लि. मार्फत जुम्लामा तीन सय भन्दा बढी युवाले आफ्नै घरआँगनमै रोजगारी पाएका छन्। तर कर तिरेर, बैंक तथा विदेशी ऋणसमेत बोकेर सञ्चालन गरिएका सवारी साधनहरूलाई नगरपालिका र गाउँपालिकाको सिमानाको बहानामा अनावश्यक ट्राफिक जरिवाना, रोकतोक र दुर्व्यवहार सहनुपरेको कम्पनीको गुनासो छ।

जुम्ला जस्तो सहज र सरल भूगोल भएको जिल्लामा समेत व्यवसाय सञ्चालन गर्न कठिन अवस्था सिर्जना हुनु दुःखद र चिन्ताजनक भएको उल्लेख गर्दै कम्पनीले आफ्ना समस्या सुन्ने निकाय नै नहुने हो कि कुनै अमुक कम्पनीलाई मात्र रुट परमिट दिन खोजिएको हो ? भन्ने गम्भीर प्रश्न उठाएको छ।

खुला पत्रमार्फत जुम्लाको विकासमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सरोकार राख्ने राजनीतिक दल, संघ–संस्था, राष्ट्रिय मानव अधिकार आयोग, नागरिक समाज, पत्रकार तथा बुद्धिजीवी वर्गलाई यस विषयमा गम्भीर ध्यान दिन आग्रह गरिएको छ।

साथै, भैरवनाथ यातायात सेवा प्रा.लि. ले जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख जिल्ला अधिकारीमार्फत संघ तथा प्रदेशका पूर्व, निर्वतमान र बहालवाला माननीयहरूलाई औपचारिक रूपमा पत्राचार गरिदिन अनुरोध गरेको छ।

तपाईको प्रतिक्रिया