डाेल्पान्युज
जुम्ला । तातोपानी गाउँपालिका, जुम्लाले नेपाल सरकारका माननीय वन तथा वातावरण तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री माधव प्रसाद चौलागाईं समक्ष समग्र विकाससँग जोडिएका विषयहरूकाे ध्यानाकर्षण गराएको छ।
ललितपुरको जावलाखेलस्थित मन्त्री निवासमा पुस २५ गतेभएको भेटघाट तथा छलफलमा जुम्लाका स्याउ उत्पादक किसानले भोग्दै आएका बीमा समस्यादेखि भौतिक पूर्वाधार र पर्यटन विकासका महत्वपूर्ण सवालहरू प्राथमिकताका साथ उठाइएका हुन्। जुम्लाको आवाज केन्द्र सरकारसम्म पुर्याउने महत्वपूर्ण अवसरका रूपमा लिइएको छ।
छलफलमा तातोपानी गाउँपालिकाका अध्यक्ष नन्द प्रसाद चौलागाईंले आर्थिक वर्ष २०८०/०८१ मा शिखर इन्स्योरेन्स कम्पनीसँग गरिएको स्याउ बीमाको दाबी भुक्तानीमा भएको ढिलाइ, अव्यवस्थित तथा अन्यायपूर्ण मूल्यांकनका कारण किसानहरू गम्भीर समस्यामा परेको जानकारी गराएका छन ।
स्याउ जुम्लाको पहिचान मात्र नभई किसानको मुख्य जीवनाधारसमेत भएको उल्लेख गर्दै उनले भने, “बीमा दाबीमा भएको अन्यायले किसान निराश छन्। अब सरकार स्वयं अग्रसर भएर किसानको भरोसा फर्काउनुपर्छ।”
जुम्ला आफ्नो जन्मभूमि समेत भएकाले जिल्लाको विकासप्रति आफू भावनात्मक र जिम्मेवार दुवै रहेको मन्त्री चाैलागाईले भेटमा स्पष्ट पार्दै उनले स्याउ बीमा समस्यालाई सम्बन्धित निकायसँग समन्वय गरी समाधानतर्फ लैजाने प्रतिबद्धता व्यक्त गरे।
“जुम्लाका सडक, पुल, भौतिक पूर्वाधार र पर्यटन विकास मेरा प्राथमिकताका क्षेत्र हुन्,” मन्त्री चौलागाईंले भने, “अल्पकालीन र दीर्घकालीन योजना बनाएर क्रमशः कार्यान्वयन गरिनेछ।”
त्यसैगरी तातोपानी गाउँपालिका–४ का वडा अध्यक्ष अमर रोकायाले हाँकु–तिला नदी पक्की पुल, ताम्ती–टोप्ला–जाजरकोट सडक निर्माण, गिडीदह पर्यटकीय क्षेत्रको विकास, औद्योगिक ग्राम सञ्चालन, तातोपानी धारालाई पर्यटनमैत्री बनाउने तथा जुम्लामा चिडियाखाना स्थापना जस्ता योजनामा पर्याप्त बजेट सुनिश्चित गर्न आग्रह गरे।

डोल्पा न्यूज । २५ पुष २०८२, शुक्रबार २१:५०