ताजा समाचार

डाेल्पा अस्पतालमा निशुल्क क्याल्सियम बन्द हुने संघारमा : गर्भवती आमाको स्वास्थ्य संकटमा

विष्णुप्रसाद देवकोटा

डोल्पा ।

जिल्ला अस्पताल दुनैमा गर्भवती आमाहरूका लागि वितरण हुँदै आएको निशुल्क आइरन र क्याल्सियम सेवा संकटमा परेको छ। २०८२ साउन ६ गतेदेखि निरन्तर रूपमा प्रदान हुँदै आएको यो सेवा अब मौज्दात सकिन थालेपछि बन्द हुने अवस्थातर्फ उन्मुख भएको अस्पतालले जनाएको छ।

अस्पतालका अनुसार हाल गर्भवती आमाहरूलाई आवश्यक आइरन चक्की सरकारबाट निशुल्क उपलब्ध भए पनि क्याल्सियम भने सरकारी सूचीमा नपरेको औषधि हो।

करिब छ महिना अघि जिल्ला अस्पतालमा कार्यरत तत्कालीन चिकित्सा शाखा प्रमुख चिकित्सक अखण्ड उपाध्यायको पहलमा अमेरिकास्थित  हिमालयन फेमिली हेल्थकेयर प्रोजेक्ट (USA) को सहयोगमा निशुल्क क्याल्सियम वितरणको व्यवस्था गरिएको थियो। याे अभियान अन्तर्गत पाँच महिनाको अवधिमा २२१ जना गर्भवती महिलाले निशुल्क क्याल्सियम पाएका छन्, जसले प्रत्येक आमाको करिब तीन हजार रुपैयाँसम्म खर्च जोगिएको अस्पतालको तथ्यांक छ।

अस्पतालमा दैनिक आइतवार, सोमवार र बिहीवार गरी एक दिनमा औसत २० जनासम्म गर्भवती महिला सेवा लिन आउने गर्छन्। हाल अस्पतालमा करिब ५०० ट्याब्लेट मात्र मौज्दात रहेको र अब नयाँ खरिद नगरे क्याल्सियम वितरण निरन्तरता दिन नसकिने अस्पताल नर्सिङ निरीक्षक दिलु बुढाले बताइन्।

उनका अनुसार अस्पतालमा १० चक्कीको एक पत्ताको मूल्य ६५ रुपैयाँ पर्छ भने बजारमा ३०० देखि ४०० सम्म पर्छ,जसका कारण आर्थिक रूपमा कमजोर महिलाका लागि क्याल्सियम किनेर खानु चुनौतीपूर्ण बन्दै गएको छ।

‘सरकारले आइरन चक्की मात्र निशुल्क दिन्छ, क्याल्सियम किन्नुपर्छ,’ बुढा भन्छिन्, ‘तर धेरै गर्भवती आमासँग क्याल्सियम किन्ने हैसियत हुँदैन। त्यसैले हामीले आमाबच्चाको स्वास्थ्य सुरक्षित होस् भन्ने उद्देश्यले निशुल्क वितरण गर्दै आएका थियौं।’

चिकित्सकहरूका अनुसार गर्भवती भएको तीन महिना पूरा भएपछि सुत्केरी भएको तीन महिनासम्म आइरन र क्याल्सियम अनिवार्य रूपमा सेवन गर्नुपर्ने हुन्छ। यसले हड्डी मजबुत बनाउने, रक्तचाप सन्तुलनमा राख्ने, दाँत बलियो बनाउने र आमा–शिशु दुवैको समग्र स्वास्थ्य जोगाउन महत्वपूर्ण भूमिका खेल्ने गर्दछ।

जिल्लाका आठवटा स्थानीय तहहरूमध्ये हाल त्रिपुरासुन्दरी नगरपालिकाले मात्र आफ्नै बजेटबाट क्याल्सियम खरिद गरी निशुल्क वितरण गर्दै आएको भएपनि याे प्रयाप्त मात्रामा छैन । यदि जिल्ला अस्पतालमा रहेको यो व्यवस्था पूर्ण रूपमा बन्द भयो भने आर्थिक रूपमा विपन्न, मजदुरी गरेर जीवन धानिरहेका परिवारका गर्भवती महिलाहरू समयमै क्याल्सियम नपाउने अवस्थामा पुग्ने जोखिम बढ्ने बढ्ने छ ।

रुकुम पश्चिमको गोतामकोट घर भई हाल डोल्पामा मजदुरी गर्दै बसिरहेकी सुनकुमारी विक भन्छिन्, “निशुल्क क्याल्सियम नपाएको भए म जस्ता गरिब महिलाले किन्न सक्दैनथ्यौं। यो व्यवस्थाले हामीलाई ठूलो राहत दिएको छ।”

स्वास्थ्यकर्मीहरूका अनुसार यदि यो व्यवस्था निरन्तरता दिन सकिएन भने हिमाली जिल्लाका कमजोर आर्थिक अवस्थाका गर्भवती महिलाले गम्भीर स्वास्थ्य समस्या झेल्नुपर्नेछ। त्यसैले निशुल्क क्याल्सियम वितरणलाई निरन्तरता दिन सरकारी निकाय, दातृ संस्था र स्थानीय तहको तत्काल ध्यान र सहयोग आवश्यक रहेको उनीहरूको जोड छ।

गर्भवती आमाको स्वास्थ्य सुरक्षित गर्नु भनेकै सुरक्षित भविष्यको आधार तयार गर्नु हो। यो संवेदनशील घडीमा निशुल्क क्याल्सियम वितरणजस्ता कार्यक्रमलाई निरन्तरता दिनु मानविय दायित्व मात्र होइन, राज्य र समाजको साझा जिम्मेवारीसमेत हो।हिमाली भेगका आमाहरुकाे स्वास्थ्य र जीवनकाे उच्च जाेखिमतालाई हटाउन निशुल्क क्याल्सियम वितरण ब्यवस्था निरन्तरताकाे लागि सम्बन्धित पक्षकाे समयमै ध्यान पुग्नु जरुरी छ ।

तपाईको प्रतिक्रिया