विष्णुप्रसाद देवकोटा
डोल्पा ।त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोटमा भएको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका ठुलिभेरी नगरपालिका–४ तिप्लाका ३५ वर्षीय नेत्र रोकायाको उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको छ।
काठमाडौंस्थित ग्राण्डी अस्पतालमा उपचाररत रोकायाको मंगलबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।
प्रहरीका अनुसार ०८२ पुस ८ गते बिहान करिब ९ बजे त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोटबाट छलस्थित मन्दिरमा पूजा गर्न जाँदै गर्दा त्रिपुराकोट–जुम्ला सडकखण्डअन्तर्गत गल्ली गाडस्थित कल्भर्ट पुलमा क १ प १२१८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो। दुर्घटनामा रोकाया गम्भीर घाइते भएका थिए।
दुर्घटनामा रोकायाका दुवै कुम भाँचिनुका साथै फोक्सोबाट हावा लिक हुने जटिल अवस्था देखिएपछि उनलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल दुनै लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि फिष्टेल एयरको 9N-AJ2 नम्बरको हेलिकप्टरमार्फत साँझ करिब ५ बजे काठमाडौं लगिएको थियो।
यसै दुर्घटनामा सोही मोटरसाइकलमा पछाडि सवार ३६ वर्षीया गीता बुढा पनि घाइते भएकी छन्। उनको ग्राण्डी अस्पतालमै उपचार भइरहेको र बायाँ हातमा चोट लागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
डाेल्पा माेटरसाइकल दुर्घटनामा घाइते नेत्र रोकायाको उपचारका क्रममा काठमाडौंमा मृत्यु
तपाईको प्रतिक्रिया

डोल्पा न्यूज । ८ पुष २०८२, मंगलवार १९:२७