विष्णुप्रसाद देवकोटा
डोल्पा । त्रिपुरासुन्दरी नगरपालिका भित्रका सामुदायिक विद्यालयहरूमा आगामी पुस पहिलो सातादेखि वार्षिक परीक्षा हुने भएको छ। नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा आइतबार बसेको प्रध्यानाध्यापकहरूको बैठकले शैक्षिक सत्र २०८२ को वार्षिक परीक्षा पुस ४ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको शिक्षा शाखाका निमित्त प्रमुख यामप्रसाद शर्मा गौतमले जानकारी दिए।
नगरपालिका भित्रका २९ वटा सामुदायिक विद्यालयमा एकैसाथ पुस ४ गतेदेखि परीक्षा सञ्चालन गर्ने निर्णय गरिएको छ। “हरेक वर्ष मंसिरमै परीक्षा हुँदै आएकोमा यस वर्ष एक महिना ढिलो गरी पुसमा परीक्षा गरिने छ,” गौतमले बताए।
बैठकमा सबै सामुदायिक विद्यालयका प्रध्यानाध्यापकहरू तथा शिक्षा शाखाका प्रतिनिधिहरूको उपस्थिति थियो। सहभागीहरूले परीक्षा व्यवस्थापन, विधि–विधान, प्रश्नपत्र सुरक्षा, आवश्यक जनशक्ति व्यवस्था तथा अनुगमन प्रणालीबारे विस्तृत छलफल गरेका थिए।

डोल्पा न्यूज । १४ मंसिर २०८२, आईतवार २१:३९