जिल्ला समन्वय समिति डोल्पामा आइतबार बसेको सर्वदलीय बैठकले निक साइमन्स इन्स्टिच्युटले डोल्पा जिल्लामा सेवा विस्तारका लागि गरेको स्थलगत अध्ययनबाट डोल्पा प्राविधिक रूपमा उपयुक्त सूचीमा परिसकेको स्पष्ट रहेकाले जिल्ला अस्पतालमा संस्थाको सेवा स्थापना गर्न पहिलो प्राथमिकतामा राख्न माग गरेको छ।
जिल्ला समन्वय समितिका प्रमुख श्यामबहादुर रोकायाका अनुसार भौगोलिक रूपमा अत्यन्तै विकट र विकासका दृष्टिले पछाडि परेको डोल्पालाई कर्णाली प्रदेशका लागि उपलब्ध ६ उपयुक्त स्थानमध्ये शीर्ष प्राथमिकतामा छनोट गर्न सर्वदलीय बैठकले संयुक्तरूपमा आग्रह गरेको हो।
निक साइमन्स इन्स्टिच्युटले कर्णाली प्रदेशका पाँच विकट जिल्लामा विशेषज्ञ चिकित्सकसहित सेवा विस्तार गर्ने तयारी गरिरहेको समयमा डोल्पालाई सूचिबाट बाहिर राख्ने संकेत देखिएपछि जिल्लास्थित सबै राजनीतिक दल र सरोकारवालाहरु बैठक बसेका थिए।
बैठकले डोल्पा छनोट नभएमा प्रदेश राजधानी सुर्खेतमा रहेका सम्बन्धित मन्त्रालय वा निकायसमक्ष धर्ना तथा चरणबद्ध आन्दोलन गर्ने चेतावनी पनि दिएको प्रमुख रोकायाले जानकारी दिए।
सर्वदलीय बैठकले पावर पहुँचका आधारमा जिल्ला छनोट गर्ने प्रयास भएमा डोल्पाबासी कठोर आन्दोलनमा उत्रिने निर्णय समेत गरेको छ।

डोल्पा न्यूज । २२ मंसिर २०८२, सोमबार ०२:५७