ताजा समाचार

पर्यटक गाइड डोल्पाका सुवर्ण डांगी पृथ्वी जयन्तीमा काठमाडौंमा सम्मानित

डाेल्पान्युज

काठमाडौँ।डोल्पाका पर्यटक गाइड सुवर्ण डांगी नेपाल सरकार, वन तथा वातावरण मन्त्रालयका मन्त्री माधव प्रसाद चौलागाईंबाट प्रमाणपत्रसहित सम्मानित भएका छन।सम्मानसंगै हिमाली जिल्लाबाट सुरु भएको डांगीकाे सरसफाइ अभियानले राजधानीसम्म आइपुग्दा त्यसले केवल वातावरणीय सन्देश मात्र दिएन, राज्यबाट औपचारिक सम्मानसमेत प्राप्त गरेेकाे छ ।

पृथ्वी जयन्तीको अवसरमा काठमाडौंमा आयोजित सरसफाइ तथा फोहोर संकलन कार्यक्रममा सक्रिय सहभागिता जनाउँदै पर्यटकीय क्षेत्रको सरसफाइ, वातावरण संरक्षण र दिगो पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याएबापत डांगीलाई उक्त सम्मान प्रदान गरिएको हो।

डोल्पाको ठूलीभेरी नगरपालिका–८, डांगीवाडा निवासी सुवर्ण डांगी पेशाले पर्यटक पथप्रदर्शक हुन्।  विश्वप्रसिद्ध फोक्सुण्डो ताल र आसपास क्षेत्र पछिल्ला वर्षहरूमा बढ्दो पर्यटक चापका कारण फोहोर व्यवस्थापनको चुनौती सामना गरिरहेका बेला डांगीले सरसफाइलाई व्यक्तिगत र सामूहिक दायित्वका रूपमा अघि सारे।

‘म हाम्रो अभियान’ नाम दिएर सञ्चालन गरिएको सरसफाइ पहल अन्तर्गत डांगीले स्थानीय समुदाय, सहकर्मी गाइड र स्वयंसेवकसँग मिलेर पुस महिनाको मध्यतिर एक सातासम्म निरन्तर सरसफाइ अभियान सञ्चालन गरेका थिए। उक्त अभियानबाट फोक्सुण्डो ताल र आसपासका पर्यटकीय क्षेत्रबाट करिब १२ सय केजी फोहोर संकलन गरिएको थियो।

संकलित फोहोरलाई व्यवस्थापनका लागि शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालय, सुलिगाडलाई औपचारिक रूपमा बुझाइएको प्रमाणपत्रमा उल्लेख छ। संवेदनशील संरक्षित क्षेत्रमा यति ठूलो परिमाणको फोहोर संकलन र व्यवस्थापन आफैंमा चुनौतीपूर्ण काम भएको मन्त्रालयको मूल्याङ्कन छ।

डांगीको सक्रियता फोक्सुण्डोमै सीमित रहेन। पृथ्वी जयन्तीको अवसरमा राजधानी काठमाडौंमा आयोजित सरसफाइ तथा फोहोर संकलन कार्यक्रममा समेत उनी सहभागी बने। हिमालदेखि राजधानीसम्म एउटै सरसफाइ सन्देश फैलिएको यस सहभागितालाई मन्त्रालयले प्रतीकात्मक मात्र नभई व्यवहारिक अभियानका रूपमा व्याख्या गरेको छ।

वन तथा वातावरण मन्त्रालयका अनुसार संरक्षित र पर्यटकीय क्षेत्रको सरसफाइमा स्थानीयस्तरबाट हुने यस्ता पहलले वातावरण संरक्षणसँगै नेपालको पर्यटन छविलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा सुदृढ बनाउने काम गर्छ।

मन्त्री माधव प्रसाद चौलागाईंको हस्ताक्षरसहित प्रदान गरिएको सम्मान–पत्र एक व्यक्तिको योगदानको कदर मात्र नभई, पर्यटक गाइड र स्थानीय अभियन्ताहरूको भूमिकालाई राज्यले औपचारिक रूपमा स्वीकार गरेको संकेतका रूपमा लिइएको छ।

सुवर्ण डांगीको यात्राले देखाउँछ—पर्यटन आम्दानीको साधन मात्र होइन, संरक्षण र जिम्मेवारीसँग जोडिएको अभ्यास हो। फोक्सुण्डोको नीलो तालदेखि काठमाडौंका सडकसम्म फैलिएको सरसफाइ अभियानले दिगो पर्यटन विकासका लागि स्थानीय तहबाट सुरु हुने पहल कति प्रभावकारी हुन सक्छ भन्ने स्पष्ट सन्देश दिनेमा दुई मत छैन।

तपाईको प्रतिक्रिया