ताजा समाचार

डाेल्पामा अस्थायी मतदाता नामावली संकलनका लागि  सहायक नाम दर्ता अधिकारी तोकिए

विष्णुप्रसाद देवकोटा

डोल्पा। निर्वाचन आयोग नेपालको निर्देशन अनुसार डोल्पा जिल्लामा अस्थायी मतदाता नामावली संकलन तथा व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउन विभिन्न सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरुलाई सहायक नाम दर्ता अधिकारी तोकिएको छ।

जिल्ला प्रशासन कार्यालय डोल्पाको संयोजनमा बसेको जिल्ला अस्थायी मतदाता नामावली संकलन तथा व्यवस्थापन समितिको बैठकले जिल्लास्थित कार्यालयहरुबाट प्राप्त विवरणका आधारमा सहायक नाम दर्ता अधिकारी तोक्ने निर्णय गरेको हो। बैठक प्रमुख जिल्ला अधिकारी तथा समितिका संयोजक भीमराज काेइराला जिल्ला बाहिर रहेकाले सहायक प्रमुख जिल्ला अधिकारी रमेश पाैडेलको अध्यक्षतामा सम्पन्न भएको थियो।

बैठकमा  जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक रुक बहादुर खड्का, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय डोल्पाका प्रमुख राजकुमार न्यौपाने, सशस्त्र प्रहरी बल नेपाल नं. ४६ गुल्म डोल्पाका सशस्त्र प्रहरी उपरीक्षक गिरीन्द्र बहादुर बुढाथोकी, सङ्राम शाहिद गुल्म डोल्पाका सशस्त्र प्रहरी निरीक्षक रविन पाण्डे, कारागार कार्यालय डोल्पाका कारागार प्रशासक धिराज आचार्य तथा जिल्ला निर्वाचन कार्यालय डोल्पाका निर्वाचन अधिकृत दिल कृष्ण श्रेष्ठको उपस्थिति रहेको थियो। निर्वाचन अधिकृत श्रेष्ठले बैठकको सदस्य सचिवको भूमिका निर्वाह गरेका थिए।

बैठकले निर्वाचन आयोगको मिति २०८२ भदौ २९ को पत्र अनुसार जिल्लामा कार्यरत कर्मचारी, सुरक्षा निकाय तथा शिक्षकसमेत गरी करिब २ हजार जनासम्मको विवरण संकलन गरी अस्थायी मतदाता नामावलीमा समावेश गर्ने निर्णय गरेको छ।

सोही निर्णय अनुसार जिल्लाका विभिन्न कार्यालयमा कार्यरत कर्मचारीहरुलाई सहायक नाम दर्ता अधिकारीको जिम्मेवारी दिइएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। अस्थायी मतदाता नामावली संकलन कार्य तोकिएको कार्यतालिका अनुसार सञ्चालन हुने र सबै सम्बन्धित कार्यालयहरुले आवश्यक सहकार्य गर्ने निर्णय समेत गरिएको छ।

निर्वाचन कार्यालयका अनुसार यस प्रक्रियाले सेवाका कारण स्थायी ठेगानाबाहिर रहेका मतदातालाई मतदान अधिकार सुनिश्चित गर्न सहयोग पुग्ने विश्वास लिइएको छ।

तपाईको प्रतिक्रिया