ताजा समाचार

डाेल्पामा सर्वदलीय बैठक,नेपाली सेनाकाे अबैध चेकपोस्ट हटाउन उच्च तहमा पत्राचार गर्ने निर्णय

विष्णुप्रसाद देवकोटा

डोल्पा ।नागरिकको स्वतन्त्र आवतजावतको अधिकार संविधानले सुनिश्चित गरेकाे अवस्थामा  डोल्पाको ठुलिभेरी नगरपालिका–४ खुदेगौडामा राज्यको संविधान नेपाली सेनाका बुटमुनी कुल्चिँदै गएको ठहर पुस ६ गते दुनैमा बसेकाे सर्वदलीय बैठकले गरेको छ।

जिल्ला समन्वय समिति डोल्पाको सभाहलमा जिल्ला समन्वय प्रमुख श्यामबहादुर रोकायाको अध्यक्षतामा सम्पन्न सर्वदलीय बैठकले उक्त ठहर गरेकाे हाे ।

शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको सुरक्षा जिम्मा लिएको संग्राम सार्दुल गुल्मले आफ्नो कानुनी क्षेत्राधिकार नाघेर निकुञ्जको कोर एरियाबाहिर अवैध रूपमा चेकपोस्ट खडा गरी सर्वसाधारणमाथि ‘सैनिक शासन’ चलाइरहेको निष्कर्ष  समेत समन्वय प्रमुखकाे अध्यक्षतामा बसेकाे सर्वदलिय सर्वपक्षीय बैठकले निष्कर्ष निकालेको छ।

बैठकले द्वन्द्वकालीन मानसिकताबाट मुक्त हुन नसकेको सेनाको एकाइले अहिले पनि सुलिगाडमै बसेर निकुञ्ज सुरक्षाको नाममा ठुलिभेरी–४ खुदेगौडामा अनधिकृत चेकपोस्ट सञ्चालन गर्दै यात्रु र सवारी साधनलाई अनावश्यक रोकथाम गरी जनताको समय र सम्मान दुवैको अपमान गरिरहेको ठहर गरेको छ।

यसको चरम उदाहरणका रूपमा ०८२ पुस ३ गते साँझ संग्राम सार्दुल गुल्मका एक सैनिक जवानले कुनै कानुनी आधारबिना ठुलिभेरी–६ निवासी ३८ वर्षीय जीप चालक ओमप्रसाद रोकायालाई सवारीबाट जबर्जस्ती झिकेर लात्तामुक्का प्रहार गरेको दुखद भएकाे बताएकाे छ।

उक्त कुटपिटबाट गम्भीर घाइते भएका चालकलाई जिल्ला बाहिर रिफर गर्नुपरेको अवस्थाले ‘राष्ट्रिय सुरक्षाको नाममा नागरिक कुट्ने छुट कसले दियो ?’ भन्ने प्रश्न बैठकले राज्यसमक्ष तेर्स्याएको निर्णयमा उल्लेख छ।

पटक–पटक चेकजाँचको नाममा सर्वसाधारणले हैरानी खेप्दै आउनु, निकुञ्ज क्षेत्रधिकारभन्दा बाहिर जडिबुटी नियन्त्रणको बहानामा चेकपोस्ट राखिनु स्वयं कानुनी राज्यको उपहास भएको निष्कर्ष निकाल्दै बैठकले खुदेगौडामा स्थापना गरिएकाे चेकजाँच पाेष्टलाई अवैध भन्दै  तत्काल हटाउन सुरक्षा सम्बन्धी उच्च निकायमा कडा पत्राचार गर्ने निर्णय गरेको छ।

यदि राज्य संयन्त्रले नागरिक अधिकारभन्दा सेनाको दम्भलाई प्राथमिकता दियो भने, यसले संविधान, संघीय संरचना र लोकतान्त्रिक मूल्यहरूमाथि नै गम्भीर प्रश्न खडा गर्ने बैठकले चेतावनी समेत दिएको छ ।

बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य कर्ण बुढा, ठुलिभेरी नगरपालिका प्रमुख सुवर्ण बुढा, कांग्रेस सचिव हिक्मत शाही, नेकपा एमालेका नरबहादुर बुढा, नेकपा (माओवादी केन्द्र)का धर्मलाल बुढा, नगर उपप्रमुख छिरिङटोल्मा महत, नागरिक समाजका अध्यक्ष शेरबहादुर बुढा, जिसस सदस्य सन्तराम रोकाया, वडाध्यक्षहरू जुद्धबहादुर बुढा र तेजेन्द्रबहादुर रोकाया शे फाेक्सुण्डाे राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र ब्यवस्थापन समितिका पुर्व अध्यक्ष रामप्रसाद महत पत्रकार टेक शाही र सराेज थापाकाे उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया