विष्णुप्रसाद देवकोटा
डोल्पा ।
त्रिपुरासुन्दरी नगरपालिका–४, रंग गाउँमा पशुपन्छीमा देखिने विभिन्न रोगको रोकथाम तथा उपचारका लागि एकदिने निशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । पशु अस्पताल तथा पशु सेवा कार्यालय डोल्पाको आयोजनामा सञ्चालन गरिएको शिविरले स्थानीय कृषकलाई प्रत्यक्ष राहत पुर्याएको छ ।
शिविरमा पशु विकास अधिकृत डा. साजन रोकाया र प्राविधिक अकल बहादुर सेजुवालको सक्रिय सहभागिता रहेको थियो । शिविरको मुख्य उद्देश्य पशुपन्छीमा लाग्ने आन्तरिक तथा बाह्य परजीवीको नियन्त्रण, रेबीज रोगविरुद्ध खोप लगाउने, आवश्यक पशु बन्ध्याकरण गर्ने तथा अन्य सामान्य रोगहरूको जाँच गरी समयमै उपचार सेवा उपलब्ध गराउनु रहेको प्राविधिक अक्कल बहादुर सेजुवालले जानकारी दिए । 
शिविरका क्रममा भेडा, बाख्रा, गाईगोरु, घोडा तथा कुकुरजस्ता पशुपन्छीहरूको स्वास्थ्य परीक्षण गरी आवश्यक औषधि वितरण गरिएको थियो । साथै पशुपन्छीको पोषण, रोग पहिचान, सरसफाइ, खोपको महत्त्व तथा समयमै उपचार गराउनुपर्ने विषयमा कृषकहरूलाई प्राविधिक सल्लाह र परामर्श समेत दिइएको थियो ।
शिविरबाट ८५ जना कृषक प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् ।भेडा, बाख्रा, गाईगोरु, घोडा र कुकुर गरी झण्डै २ हजार २ सय पशुपन्छीको उपचार गरिएको पशु सेवा कार्यालय डोल्पाले जानकारी दिएको छ । दुर्गम क्षेत्रका कृषकहरूका लागि यस्ता निशुल्क शिविरहरू अत्यन्त उपयोगी हुने बताउँदै सहभागी कृषकहरूले सेवा गाउँमै पाउँदा समय र खर्च दुवै बचत भएको स्थानीय श्रीदल बुढाले बताए ।
आयोजक पशु अस्पताल तथा पशु सेवा कार्यालय डोल्पाका अनुसार आगामी दिनमा पनि दुर्गम तथा पहुँच बाहिर रहेका बस्तीहरूलाई लक्षित गर्दै यस्ता स्वास्थ्य शिविरलाई निरन्तरता दिइने छ । पशुपालन नै आम्दानीको मुख्य स्रोत बनेका ग्रामीण भेगका कृषकहरूका लागि पशुपन्छीको स्वास्थ्य सुनिश्चित गर्नु आर्थिक सशक्तीकरणको आधार भएकाले यस्ता कार्यक्रमलाई प्राथमिकतामा राखिएको कार्यालयले जनाएको छ ।

डोल्पा न्यूज । १३ पुष २०८२, आईतवार १८:५२