विष्णुप्रसाद देवकोटा
सुर्खेत । साम्राज्यवाद र विस्तारवादको प्रभावमा सञ्चालन भइरहेको भन्दै फागुन २१ गते बोलाइएको कथित प्रतिनिधि सभा बैठक बहिष्कार गर्न आह्वान गर्दै स्वाधीन संयुक्त सरकार गठन गरौँ भन्ने मूल नाराका साथ क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, ३ नं. ब्युरो पार्टीले कर्णाली प्रदेशमा बहिष्कारसम्बन्धी प्रचार अभियान तीव्र पारेको छ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतलाई केन्द्र बनाएर पार्टीले पर्चा वितरण, भित्तेलेखन, कोणसभा तथा जनसम्पर्क अभियानमार्फत बहिष्कारको सन्देश जनतामाझ पुर्याइरहेको छ। पार्टीका अनुसार वर्तमान प्रतिनिधि सभा जनताको सार्वभौम अधिकारको प्रतिनिधित्व गर्न असफल भइसकेको र यो संरचना विदेशी शक्ति तथा विस्तारवादी स्वार्थको इशारामा चलिरहेको छ।
पार्टीले जारी गरेको प्रचार सामग्रीमा उल्लेख गरिएअनुसार, वर्तमान संसदीय व्यवस्था जनविरोधी, दलाल पुँजीवादी र साम्राज्यवादी शक्तिको संरक्षणमा टिकेको आरोप लगाइएको छ। यस्तो व्यवस्थाबाट मुलुकको राष्ट्रिय स्वाधीनता, सामाजिक न्याय र जनअधिकार सुनिश्चित हुन नसक्ने दाबी गर्दै पार्टीले नयाँ राजनीतिक विकल्पको आवश्यकता औँल्याएको छ।अभियान अन्तर्गत पाटीका पाेलिट ब्युरो सदस्य सहितकाे टाेलिले प्रदेश सरकारका भाैतिक पुर्वाधार विकास मन्त्रीलाई समेत भेटेर पाटीले लिएकाे नीति तथन कार्यदिशा बारे जानकारी गराएकाे छ ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले देशको वर्तमान संकटको समाधानका लागि स्वाधीन, राष्ट्रिय र संयुक्त सरकार गठन अपरिहार्य भएको ठहर गरेको छ। पार्टीका अनुसार उक्त सरकार जनताको प्रत्यक्ष सहभागिता, राष्ट्रिय स्वाधीनता र समाजवादी दिशातर्फ उन्मुख हुने आधारमा गठन हुनुपर्ने पाेलिट ब्युराे सदस्य शेरबहादुर देउवाले जानकारी दिए ।
पार्टी नेतृत्वले फागुन २१ गतेको प्रतिनिधि सभा बैठक बहिष्कारलाई केवल औपचारिक विरोध नभई जनताको सचेत राजनीतिक प्रतिरोधको अभिव्यक्तिका रूपमा व्याख्या गरेको छ। कर्णाली प्रदेशमा सुरु गरिएको यो प्रचार अभियानलाई आगामी दिनमा अन्य जिल्लाहरूमा समेत विस्तार गरिने जनाइएको छ।

डोल्पा न्यूज । ९ पुष २०८२, बुधबार १९:३९