ताजा समाचार

हिमाली जिल्ला डाेल्पामा नेपाल बैंक लिमिटेडकाे एटिएम सेवा संचालनमा 

विष्णुप्रसाद देवकोटा

मंसिर ४, डोल्पा ।नेपाल बैंकले डोल्पामा पहिलो पटक एटिएम (ATM) सेवा सञ्चालनमा ल्याएको छ। बिहीबार सदरमुकाम दुनैस्थित नेपाल बैंक शाखामा एक कार्यक्रमका बीच एटिएम मेसिनको औपचारिक उद्घाटन भएको हो। कर्णाली प्रदेश प्रमुख दिनेश प्रसाद पौडेलले रिबन काटी एटिएम सेवाको शुभारम्भ गरे।

२०३२ सालमा स्थापना भएको नेपाल बैंक दुनै शाखाले जिल्लामै पहिलो एटिएम सञ्चालनमा ल्याउँदै ग्राहकलाई आधुनिक बैंकिङ सेवा दिन थालेको हो। नेपाल बैंक लिमिटेडको ८९ औँ वर्ष पुगेको विशेष अवसरमा एटिएम सेवा प्रारम्भ गरिएको शाखा प्रमुख रबि भण्डारीले जानकारी दिए।

डोल्पामा आधा दर्जन बैंक सक्रिय भए पनि अहिलेसम्म कुनै बैंकले एटिएम सेवा सञ्चालनमा ल्याउन सकेका थिएनन्। एक वर्षअघि सिटिजन्स बैंकले पोस मेसिनमार्फत सेवा दिँदै आएको भए पनि एटिएम भने नेपाल बैंकले पहिलोपटक संचालनमा ल्याएको हो। अब ग्राहकले सहजै रकम झिक्न, एटिएम कार्ड लिन तथा न्यून झन्झटमा बैंकिङ सेवा उपयोग गर्न सक्ने शाखा प्रमुख भण्डारीले बताए।

उद्घाटन कार्यक्रममा डोल्पा उद्योग वाणिज्य संघका अध्यक्ष तथा ठूलीभेरी–३ का वडाअध्यक्ष भक्त भण्डारीले नेपाल बैंकले जग्गा–जमिनमा समेत सहुलियतपूर्ण कर्जा प्रवाह गर्नुपर्ने आवश्यकता औँल्याए। संघका सम्मानित सदस्य लालिमान बुढाले एटिएमले डोल्पाका स्थानीय मात्र होइन, जिल्लामा आउने आन्तरिक पर्यटकले पनि ठूलो सुविधा पाउने विश्वास व्यक्त गरे।

कर्णाली प्रदेश प्रमुख पौडेलले लगभग ५० वर्षदेखि विभिन्न कठिन परिस्थितिमा पनि निरन्तर सेवा दिँदै आएको नेपाल बैंक दुनै शाखाले एटिएम जडान गर्न दुई वर्षदेखि प्रयासरत रहेको बताए। प्राविधिक चुनौतीका कारण ढिलाइ भए पनि यस वर्ष सफलतापूर्वक सेवा सञ्चालनमा ल्याउन सकेको उनले बताए। “डोल्पाका ग्राहकलाई कुनै हालतमा असहज हुन नदिने गरी सेवा निरन्तरता दिनेछौँ,” पौडेलले प्रतिबद्धता जनाए।

दुनैमा एटिएम सञ्चालन भएपछि स्थानीयमा खुशी छाएको छ। होटल तथा पसलमा क्युआर स्क्यान, चेक साट्न बैंक धाउनुपर्ने झन्झट हट्ने देखिएको छ। डिजिटल बैंकिङ प्रविधि देशभर फैलिँदै गरेको बेला डोल्पाका नागरिकले पनि अब एटिएम सेवा उपयोग गर्न पाउने बनेका छन्।

तपाईको प्रतिक्रिया