विष्णुप्रसाद देवकोटा
मुलुकी अपराध (संहिता) ऐन २०७४ ले २० वर्ष उमेर नपुगी गरिने विवाहलाई गैरकानुनी ठहर गर्दै स्वतः बदर हुने प्रावधान राखे पनि डोल्पामा भने यस्तो प्रचलन अझै पनि गम्भीर चुनौतीका रूपमा देखिएको छ। राष्ट्रिय जनगणना २०७८ का तथ्यांकअनुसार जिल्लामा ६१.८७ प्रतिशत व्यक्तिले कानुनी उमेर नपुग्दै विवाह गरेका छन् – तीमध्ये ७० प्रतिशत किशोरी र ५४ प्रतिशत किशोर रहेका छन्।
जिल्लाका आठै स्थानीय तहमध्ये सबैभन्दा बढी बालविवाह दर ठूलीभेरी नगरपालिकामा ७० प्रतिशत छ (किशोरी ७७%, किशोर ६२.५४%)। त्यसपछि मुड्केचुलामा ६९%, त्रिपुरासुन्दरीमा ६५%, जगदुल्लामा ६३%, डोल्पोबुद्धमा ५२%, काइकेमा ५४%, शे–फोक्सुण्डोमा ४६% र छार्का ताङसोङमा ४४% दरले बालविवाह हुने गरिरहेको छ।
त्रिपुरासुन्दरीमा एकदिने समीक्षा तथा छलफल
आईतबार त्रिपुरासुन्दरी नगरपालिकामा बालविवाह तथा लैङ्गिक हिंसा रोकथामसम्बन्धी एकदिने समीक्षा र छलफल कार्यक्रम सम्पन्न भयो। नगरपालिका प्रमुख जनचन्द्र रोकायाको अध्यक्षतामा र जिल्ला समन्वय समिति डोल्पाका प्रमुख श्यामबहादुर रोकायाको प्रमुख आतिथ्यतामा बसेको कार्यक्रममा गैरसरकारी संस्था महासंघ कर्णाली प्रदेशका सचिव रणबहादुर कार्कीले कार्यसूची र तथ्यांक प्रस्तुति गरेका थिए।
कार्यक्रममा चालु आर्थिक वर्ष २०८२/८३ का महिला तथा बालबालिकासम्बन्धी नीति, कार्यक्रम र बजेटबारे विस्तृत जानकारी साझा गरियो। सो क्रममा बालविवाहका कारण, वर्तमान अवस्थाहरू, अवरोधका विषय र रोकथामका रणनीतिमाथि विस्तृत अन्तरक्रिया चलाइयो।
नागरिक समाज डोल्पाका अध्यक्ष शेरबहादुर बुढा र जिल्ला समन्वय समितिका प्रमुख रोकायाले बालविवाह रोक्न वडास्तरको सक्रियता, समन्वय र सहकार्य नै निर्णायक हुनेमा जोड दिए।
१६ दिने अभियानलाई प्रभावकारी बनाउने तयारी
छलफलको समापनका क्रममा नगरप्रमुख रोकायाले नगरपालिकाले बालविवाह तथा लैङ्गिक हिंसा रोकथाममा निरन्तर प्रतिबद्धता जनाउँदै लक्षित समूहका लागि आवश्यक बजेट विनियोजन गरिएको बताए।
उनका अनुसार नोभेम्बर २४, २०२५ देखि सुरु हुने ‘लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान’ सबै वडामा बालक्लब, आमासमूह, युवाक्लब र सुरक्षा निकायको सक्रिय सहभागितासहित प्रभावकारी रूपमा सञ्चालन गर्ने निर्णय गरिएको छ।

डोल्पा न्यूज । ७ मंसिर २०८२, आईतवार २१:२६