ताजा समाचार

नेपाली कम्युनिस्ट पाटी डाेल्पाकाे बैठक सम्पन्न : धनबहादुर बुढा एकल उम्मेदवार सिफारिस 

विष्णुप्रसाद देवकोटा

डोल्पा । नेपाली कम्युनिस्ट पार्टीले डोल्पाबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार सिफारिस गरेको छ। बिहीबार सदरमुकाम दुनैमा सम्पन्न तत्कालीन नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टीको पहिलो संयुक्त बैठकले निर्वाचन क्षेत्र नम्बर–१, डोल्पाबाट आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पार्टीका केन्द्रीय सदस्य धनबहादुर बुढालाई एकल उम्मेदवारका रूपमा सिफारिस गरेको हो।

एकीकृत समाजवादी पार्टीबाट पूर्व प्रतिनिधि सभा सदस्य तथा शहरी विकास मन्त्रीसमेत रहिसकेका बुढा वि.सं. २०७०, २०७४ र २०७९ का प्रतिनिधि सभा निर्वाचनमा डोल्पाबाट लगातार निर्वाचित भएका नेता हुन्।

यसैगरी, नेपाली कम्युनिस्ट पार्टी डोल्पाले समानुपातिकतर्फ विभिन्न समुदायको प्रतिनिधित्व हुने गरी उम्मेदवार सिफारिस गरेको जनाएको छ। सिफारिस गरिएका नामहरूमा पिछडिएको क्षेत्रतर्फ हंशबहादुर शाही, महिलातर्फ काली चलाउने, काली बुढा र भिमा केसी बन्जरा, दलिततर्फ नैनसिंह विक, तथा जनजातितर्फ ग्याल्बो थापा भोटे रहेका छन्।

त्यसैगरी, आगामी माघ महिनामा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि डोल्पाबाट दुई जनाको नाम सिफारिस गरिएको छ। नेकपा (माओवादी केन्द्र) तर्फबाट मालबहादुर रोकाया ‘सितार’ र नेकपा (एकीकृत समाजवादी) तर्फबाट महिलातर्फ अन्जु महतारा सिफारिस भएका हुन्।

बैठकले आगामी माघ महिनाभित्र वडा, पालिका तथा जिल्लास्तरमा पार्टी एकता सभा तथा सन्देश कार्यक्रम आयोजना गर्ने निर्णय समेत गरेको छ। साथै, दुवै पार्टीका जिल्ला कार्यालयलाई एकीकृत रूपमा व्यवस्थापन गर्न बबि किश्वर गुरुङ र बिरमल भण्डारीलाई जिम्मेवारी दिइएको नेपाली कम्युनिस्ट पार्टी डोल्पाले जनाएको छ।

तपाईको प्रतिक्रिया