विष्णुप्रसाद देवकोटा
डाेल्पाबुद्द गाउँपालिकाका संस्थापक तथा निवर्तमान अध्यक्ष तेम्बा गुरुङकाे निधन भएको छ।
५२ वर्षका गुरुङको काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको गाउँपालिकाले पुष्टि गरेको छ। उनी करिब एक महिना अघि उपचारका लागि डाेल्पाेबुद्वबाट काठमाडौं आएका थिए।
संघीयता लागू भएपछि २०७४ सालमा सम्पन्न पहिलो स्थानीय तह निर्वाचनमा गुरुङ स्वतन्त्र उम्मेदवारको रूपमा विजयी भई डाेल्पाेबुद्व गाउँपालिकाका संस्थापक अध्यक्ष बनेका थिए।सुशासन, संस्थागत प्रणाली निर्माण र दीर्घकालीन विकासको आधार तयार गर्न उनले महत्वपूर्ण भूमिका खेलेका थिए।
उनको आकस्मिक निधनले गाउँपालिका गहिरो शोकमा डुबेको डाेल्पाेबुद्व गाउँपालिकाले वक्तव्यमार्फत जनाएको छ। संस्थापक अध्यक्ष गुरुङले देखाएको निष्ठा, समर्पण र दूरदर्शी नेतृत्वले गाउँपालिकाको विकास यात्रा दृढ बनाएको उल्लेख गर्दै, उनकाे अथक परिश्रम, स्थापित संरचना र कार्यप्रणाली आजसम्म पनि कार्यदिशा, योजना र निर्णय प्रक्रियाको प्रमुख प्रेरणाका रूपमा रहँदै आएको गाउँपालिकाले जनाएको छ।
गुरुङको योगदान, दृष्टि र विरासतले गाउँपालिकालाई अझ सुदृढ मार्गदर्शन गरिरहने पनि वक्तव्यमा उल्लेख गरिएको छ।

डोल्पा न्यूज । १४ मंसिर २०८२, आईतवार ११:३०