विष्णुप्रसाद देवकोटा
हिमाली जिल्ला डोल्पाको प्रतिनिधिसभा निर्वाचन यसपटक परम्परागत दलगत प्रतिस्पर्धाभन्दा फरक बहसतर्फ मोडिन थालेको छ। लामो समय नेकपा माओवादी केन्द्रको संगठनमा सक्रिय रहँदै आएका नेता ओमेन्द्र केसीले स्वतन्त्र उम्मेदवारी घोषणा गरेसँगै डोल्पाको चुनावी राजनीति नयाँ कोणमा प्रवेश गरेको छ।
प्रदेश कमिटी सदस्यको जिम्मेवारी सम्हालिसकेका केसीले सोमबार सामाजिक सञ्जालमार्फत आफ्नो उम्मेदवारी सार्वजनिक गर्दै वर्तमान नेपाली राजनीतिमा गहिरो परिवर्तनको आवश्यकता औंल्याएका छन्। ‘जेनजी आन्दोलनपछि जनताले पुरानो दलगत, गुटगत र स्वार्थकेन्द्रित राजनीतिलाई अस्वीकार गरिसकेका छन्,’ उनले लेखेका छन्, ‘अब दलभन्दा माथि उठेको, जनउत्तरदायी र इमानदार राजनीति आवश्यक छ।’
केसीको भनाइमा उनको राजनीतिक यात्रा सत्ता र पद प्राप्तिका लागि नभई जनसेवामै केन्द्रित रहनेछ। यो अभिव्यक्तिले दलभित्रै रहेर असन्तुष्टि बोकेका मतदाता र वैकल्पिक राजनीतिक धार खोजिरहेका युवामाझ उनको उम्मेदवारीले कस्तो प्रभाव पार्ला भन्ने चासो बढाएको छ।
एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको डोल्पामा यसपटक आठ जना उम्मेदवार मैदानमा छन्। नेकपाबाट धनबहादुर बुढा, एमालेबाट लंकबहादुर रोकाय, नेपाली कांग्रेसबाट कर्ण बुढा, उज्यालो नेपाल पार्टीबाट दिलबहादुर विष्ट, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट विकास बुढा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट देवसिंह ऐडी र स्वतन्त्र उम्मेदवारका रूपमा ओमेन्द्र केसी चुनावी प्रतिस्पर्धामा छन्।
दलहरूको परम्परागत प्रभाव बलियो मानिने डोल्पामा स्वतन्त्र उम्मेदवारीले मतदाताको सोच कति बदल्न सक्छ भन्ने प्रश्नसँगै, केसीको कदमलाई ‘राजनीतिक असन्तोषको आवाज’ का रूपमा हेरिन थालेको छ। अब डोल्पाको चुनाव केवल उम्मेदवारबीचको प्रतिस्पर्धा मात्र नभई, पुरानो राजनीतिक संरचना र नयाँ राजनीतिक चेतनाबीचको परीक्षा बन्ने संकेत देखिएको छ।

डोल्पा न्यूज । ५ माघ २०८२, सोमबार २१:३१