डोल्पा — आगामी प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै नेपाली कम्युनिष्ट पार्टी (नेकपा) डोल्पाले प्रचार–प्रसारलाई थप प्रभावकारी र योजनाबद्ध बनाउन ६ सदस्यीय निर्वाचन प्रचार–प्रसार कमिटी गठन गरेको छ। पार्टीले युवा पुस्तालाई केन्द्रमा राख्दै आधुनिक सञ्चार रणनीतिसहित मैदानमा उत्रिने संकेत दिएको छ।
पार्टीको प्रदेश कमिटी सदस्य तथा युवा नेता प्रेमबहादुर बोहराको संयोजकत्वमा गठन गरिएको कमिटीको सह–संयोजकमा लेखा आयोगका केन्द्रीय सदस्य एवं युवा नेता युवराज थकाली चयन भएका छन्। यस्तै, सदस्यहरूमा नेता बबी किशोर गुरुङ, प्रदेश कमिटी सदस्य सुनिल बुढा, युवा नेता पेमा छिरिङ गुरुङ तथा विद्यार्थी नेता मोहन बुढा रहेका छन्।
गठित कमिटीले परम्परागत प्रचारका साथै सामाजिक सञ्जाल, डिजिटल मिडिया, प्रत्यक्ष संवाद र स्थानीय मुद्दामा आधारित सन्देशमार्फत पार्टीको सिद्धान्त, विचार र राजनीतिक एजेन्डा जनतासम्म पुर्याउने लक्ष्य लिएको जनाएको छ। विशेषगरी दुर्गम हिमाली जिल्ला डोल्पाका विकास, रोजगारी, शिक्षा, स्वास्थ्य र पूर्वाधारका सवाललाई केन्द्रमा राखेर प्रचार अभियान सञ्चालन गरिने कमिटीको योजना छ।
कमिटीले आगामी पाँच वर्षका लागि पार्टी र उम्मेदवारले सार्वजनिक गरेको प्रतिबद्धता पत्र (प्रतिज्ञापत्र) लाई घर–घरमा पुर्याउने, युवाहरूलाई राजनीतिक बहसमा जोड्ने तथा मतदातासँग प्रत्यक्ष अन्तरक्रिया बढाउने रणनीति अघि सारेको छ।
प्रत्यक्षतर्फका उम्मेदवार धनबहादुर बुढाको विजय सुनिश्चित गर्नुका साथै समानुपातिकतर्फ पनि पार्टीलाई उल्लेख्य मत दिलाउने लक्ष्यसहित कमिटी सक्रिय रहने बताइएको छ। निर्वाचन अवधिमात्र नभई निर्वाचनपछिको प्रतिवद्धता कार्यान्वयन, अनुगमन र निरन्तर राजनीतिक हस्तक्षेपमा समेत भूमिका खेल्ने प्रतिबद्धता कमिटीले व्यक्त गरेको छ।
पार्टीले प्रचार–प्रसार कमिटी गठनलाई निर्वाचन तयारीको निर्णायक चरणका रूपमा व्याख्या गर्दै संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार र मतदाता विश्वास आर्जनमा यस कमिटीले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरेको छ
प्रेमबहादुर बोहराको नेतृत्वमा निर्वाचन प्रचार–प्रसार कमिटी गठन
तपाईको प्रतिक्रिया

डोल्पा न्यूज । ९ माघ २०८२, शुक्रबार ०९:३२