विष्णुप्रसाद देवकोटा
डोल्पा ।
लागू औषध कारोबारको आरोपमा त्रिपुरासुन्दरी नगरपालिका–५ ल्हाँका ४२ वर्षीय जुन रोकायालाई पक्राउ गर्न खोज्दा डोल्पाको खदाङ क्षेत्र शनिबार तनावग्रस्त बनेको छ। पक्राउ प्रयासकै क्रममा प्रहरीले उनलाई भेरी नदीमा चोपेर बेपत्ता बनाएको आरोप स्थानीयवासीले लगाएपछि अवस्था चर्किएको हो।
घटनापछि आक्रोशित स्थानीयले खदाङस्थित इलाका प्रहरी कार्यालय करबगाडमा आक्रमण गर्दै तोडफोड गरेका छन्। करिब ३ सय जनाको भीडले प्रहरी चौकीमाथि आक्रमण गर्दा केही समय प्रहरी चौकी कब्जामा परेको र सुरक्षाकर्मीहरू ज्यान जोगाउँदै सुरक्षित स्थानतर्फ हट्नुपरेको जनाइएको छ।
आक्रमणका क्रममा कार्यालयमा कार्यरत प्रहरी कर्मचारीमाथि हातपात भएको र तोडफोड गरिएको प्रहरीले जनाएको छ। घटनामा प्रहरी हवल्दार उमाकान्त पन्थीको टाउकोमा चोट लागी घाइते भएका छन्।
स्थानीयवासीका अनुसार लागू औषध कारोबारीको आरोपमा पक्राउ गर्न आएका प्रहरीले जुन रोकायालाई नियन्त्रणमा लिने क्रममा बल प्रयोग गरी भेरी नदीमा चोपेपछि उनी बेपत्ता भएका हुन्। उनीहरूले घटनाको सत्यतथ्य सार्वजनिक गर्न, निष्पक्ष छानबिन गर्न र बेपत्ता भनिएका जुन रोकायाको तत्काल खोजी गर्न माग गरेका छन्।
प्रहरीको अस्वीकार र फरार भएको दाबी
यद्यपि जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक रुकबहादुर खड्काले स्थानीयको आरोप अस्वीकार गरेका छन्। उनका अनुसार सुराकीको आधारमा त्रिपुरासुन्दरी नगरपालिका–५ छेप्केस्थित झोलुङ्गे पुल नजिकबाट जुन रोकायालाई पक्राउ गर्न खोज्दा उनी प्रहरीलाई छल्दै फरार भएका थिए।
“पक्राउ प्रयासका क्रममा उनी भागेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिन सकेन। त्यसपछि उनी कहाँ गए भन्ने विषय अहिलेसम्म खुल्न सकेको छैन,” डिएसपी खड्काले बताए।
घटनापछि अवस्था नियन्त्रणमा लिन विभिन्न निकायबाट सुरक्षा टोली परिचालन गरिएको प्रहरीले जनाएको छ।
डिएसपी रुकबहादुर खड्काको कमाण्डमा २३ जना,प्रहरी चौकी त्रिपुराकोटबाट प्रहरी नायब निरीक्षक यमबहादुर बस्नेतको कमाण्डमा १३ जना,सशस्त्र प्रहरी बल नेपाल नं. ४६ गुल्म डोल्पाबाट सशस्त्र प्रहरी निरीक्षक धिरेन्द्र बुढुवालको कमाण्डमा १५ जनाको टोली घटनास्थलतर्फ गएकाे सुरक्षा स्राेतले जनाएकाे छ।
प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय करबगाड जिल्ला प्रहरी कार्यालय डोल्पाबाट करिब ३० किलोमिटर पश्चिमतर्फ अवस्थित छ। घटनाबारे विस्तृत विवरण संकलन तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।स्थानीयवासीका अनुसार जुन रोकाया लागू औषध कारोबारी नै नभएको र निर्दोष व्यक्तिलाई अनाहकमा पक्राउ गर्ने क्रममा प्रहरीले बल प्रयोग गरी भेरी नदीमा चोपेर बेपत्ता बनाएको हो।
उनीहरूका अनुसार निर्दोष व्यक्तिमाथि भएको यस कथित ज्यादतीपछि स्थानीय स्वाभाविक रूपमा आक्रोशित बनेका हुन् र यही आक्रोशकै परिणामस्वरूप प्रहरी चौकीमाथि आक्रमण भएको स्थानीयको दाबी छ।
स्थानीयले घटनाको निष्पक्ष छानबिन, बेपत्ता भनिएका जुन रोकायाको अवस्था सार्वजनिक गर्न तथा दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।

डोल्पा न्यूज । १९ पुष २०८२, शनिबार १७:५८