डोल्पा ।त्रिपुरासुन्दरी नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा तथा गोर्खा वेलफेयर ट्रस्ट नेपालको आर्थिक सहयोगमा निशुल्क स्वास्थ शिविर संचालन गरिने भएकाे छ ।शारीरिक अपाङ्गता भएका, हात–खुट्टा गुमाएका तथा कानसम्बन्धी समस्या भएका नागरिकका लागि निःशुल्क उपचार सहयोग सिफारिस शिविर सञ्चालन हुने भएको हाे।
नगरपालिकाभित्र शारीरिक अपाङ्गता भएका, विशेषगरी हात वा खुट्टा गुमाएका तथा कानसम्बन्धी जटिल समस्या भोगिरहेका व्यक्तिहरूको पहिचान, स्वास्थ्य जाँच र आवश्यक उपचारका लागि गोर्खा वेलफेयर ट्रस्ट नेपालमा सिफारिस गर्ने उद्देश्यले शिविर सञ्चालन गर्न लागिएको स्वास्थ्य शाखाले जनाएको छ।
शिविरमार्फत पहिचान गरिएका सेवाग्राहीलाई आवश्यक निःशुल्क उपचार सहयोग उपलब्ध गराइने स्वास्थ्य शाखाका तुलबहादुर श्रेष्ठले जानकारी दिए।
सूचना अनुसार शिविर २०८२ साल माघ ५ गतेदेखि माघ १४ गतेसम्म त्रिपुरासुन्दरी नगरपालिकाका विभिन्न स्वास्थ्य संस्था तथा विद्यालयहरूमा सञ्चालन हुनेछ। शिविर प्रत्येक दिन बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन गरिनेछ।
कार्यतालिका अनुसार माघ ५ गते पाहाडा स्वास्थ्य चौकी–७ डोल्पा, माघ ६ गते आधारभूत स्वास्थ्य केन्द्र–८ रावतवाडा तथा सामुदायिक स्वास्थ्य इकाइ–२ रिसी, माघ ७ गते आधारभूत स्वास्थ्य केन्द्र–२ रम र भगवती आधारभूत विद्यालय–७ छलमा शिविर सञ्चालन हुनेछ।
त्यसैगरी माघ ९ गते सुं स्वास्थ्य चौकी–०३ डोल्पा र आधारभूत स्वास्थ्य केन्द्र–४ रगा, माघ १२ गते लिङ्क स्वास्थ्य चौकी–१० डोल्पा र सामुदायिक स्वास्थ्य केन्द्र–५ ल्हो, माघ १३ गते फुल्लिङ स्वास्थ्य चौकी–०६ डोल्पा र आधारभूत स्वास्थ्य केन्द्र–११ सुहुँ तथा माघ १४ गते त्रिपुराकोट स्वास्थ्य चौकी–०१ डोल्पामा शिविर सञ्चालन गरिने सूचनामा उल्लेख छ।
स्वास्थ्य शाखाले लक्षित सेवाग्राहीलाई तोकिएको मिति, समय र स्थानमा उपस्थित भई सेवा लिन आग्रह गरेको छ। शिविरसम्बन्धी थप जानकारीका लागि तुल बहादुर नेवार र डा. सुजन कठायतसँग सम्पर्क गर्न सकिने स्वास्थ शाखाले जनाएकाे छ।

डोल्पा न्यूज । ४ माघ २०८२, आईतवार १२:४६