विष्णुप्रसाद देवकोटा
डोल्पा । डोल्पा जिल्लाको जगदुल्ला गाउँपालिका–६ बलासास्थित भित्री सडक खण्डमा पिकअप भ्यान दुर्घटना हुँदा चार जना घाइते भएका छन्।
प्रहरीका अनुसार २०८२ साल पुस ७ गते साँझ करिब ६ बजे वडा नं. ६ झ्याकोटबाट बलासातर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च १०२० नम्बरको पिकअप भ्यान अचानक ब्रेक फेल भई सडकबाट करिब १०० देखि १५० मिटर तल खस्न लागेको अवस्थामा दुर्घटना भएको हो।
उक्त पिकअप भ्यान जिल्ला जुम्ला चन्दननाथ नगरपालिका–९ निवासी ३२ वर्षीय धर्मराज गिरीले चलाइरहेका थिए। दुर्घटनामा भ्यानमा सवार चारै जना घाइते भएका छन्।
घाइते हुनेहरूमा
जगदुल्ला गाउँपालिका–६ झ्याकोट निवासी ४० वर्षीय भक्तबहादुर बुढाथोकी (सवारीधनी) दायाँ खुट्टा र ढाडमा चोट लागी अवस्था मध्यम,
उनका ६ वर्षीय छोरा सुजन बुढाथोकीको टाउकोमा चोट लागे पनि अवस्था सामान्य,
**सुर्खेत जिल्लाको गुर्भाकोट नगरपालिका–९ निवासी ३६ वर्षीय भीमबहादुर डी.सी.**को टाउकोमा चोट, अवस्था सामान्य,
तथा चालक धर्मराज गिरीको खुट्टामा सामान्य चोट लागेको प्रहरीले जनाएको छ।
घाइतेहरूलाई थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला पठाउने तयारी भइरहेको छ।
दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी माझगाउँ डोल्पाबाट प्रहरी सहायक निरीक्षक रघुनाथ पाण्डेको कमाण्डमा पाँच जनाको टोली घटनास्थलमा खटिएको छ। दुर्घटनाग्रस्त सवारी साधन हाल घटनास्थलमै रहेको र उक्त स्थान प्रहरी चौकी माझगाउँबाट करिब ३ किलोमिटर उत्तर–पश्चिममा पर्ने प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

डोल्पा न्यूज । ८ पुष २०८२, मंगलवार ११:४०