विष्णुप्रसाद देवकोटा
डोल्पा । आर्थिक वर्ष २०८१/०८२ को नियमित कार्यक्रम अन्तर्गत पशुपालन क्षेत्रमा देखिएका रोग, समस्या र समाधानका उपायहरू पहिचान गर्ने उद्देश्यले स्थानीय तह तथा सरोकारवालासँग तथ्याङ्क संकलन र भ्यालिडेसन गोष्ठी सम्पन्न भएको छ।
पशु अस्पताल तथा पशु सेवा कार्यालय, डोल्पा को आयोजनामा सम्पन्न गोष्ठीमा जिल्लाका विभिन्न स्थानीय तहका प्रतिनिधि, पशु स्वास्थ्यकर्मी तथा सरोकारवाला निकायको सहभागिता रहेको थियो।
गोष्ठीमा जिल्लामा देखिँदै आएका संक्रामक तथा असंक्रामक पशुरोग, तिनको प्रभाव, उपचारको अवस्था र रोकथामका व्यवहारिक उपायहरूबारे विस्तृत छलफल गरिएको थियो।
कार्यक्रममा पशु अस्पताल तथा पशु सेवा कार्यालय डोल्पाका डाक्टर साजन रोकाया ले जानकारी दिँदै स्थानीय तहबाट प्राप्त तथ्याङ्कको सत्यापन (भ्यालिडेसन) पशुरोग नियन्त्रण र प्रभावकारी सेवा प्रवाहका लागि अत्यन्त महत्वपूर्ण रहेको बताए।
उनले तथ्यमा आधारित योजना निर्माण र समयमै रोग नियन्त्रण गर्न यस्ता गोष्ठीले दीर्घकालीन भूमिका खेल्ने उल्लेख गरे।
गोष्ठीबाट संकलित तथा भ्यालिडेट गरिएका तथ्याङ्क आगामी कार्यक्रम, नीति निर्माण तथा पशु स्वास्थ्य सेवा सुदृढीकरणका लागि आधार बन्ने अपेक्षा गरिएको छ।

डोल्पा न्यूज । ११ पुष २०८२, शुक्रबार २१:४१