ताजा समाचार

नियाेक डोल्पामा नयाँ नेतृत्व, लेखबहादुर बुढाको अध्यक्षतामा  ७ सदस्यीय समिति पुनर्गठन

विष्णुप्रसाद देवकोटा

डोल्पा । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियाेक) जिल्ला समिति डोल्पा नयाँ नेतृत्वसहित पुनर्गठन गरिएको छ। सदरमुकाम दुनैमा बुधबार आयोजित जिल्ला भेलाले संस्थालाई थप सशक्त र निष्पक्ष भूमिकामा अघि बढाउने उद्देश्यसहित नयाँ कार्यसमिति चयन गरेको हो। भेला जिल्ला समिति डोल्पाका तत्कालीन अध्यक्ष युवराज थकालीको अध्यक्षतामा सम्पन्न भएको थियो।

भेलाबाट नियाेक डोल्पाको ७ सदस्यीय जिल्ला कार्यसमिति निर्विरोध चयन गरिएको छ। नवगठित समितिको अध्यक्षमा लेखबहादुर बुढा चयन भएका छन् भने उपाध्यक्षमा सरोज थापा, सचिवमा आनन्द सिंह रावल र कोषाध्यक्षमा देवु झाक्री चयन भएका छन्। त्यस्तै, सदस्यहरूमा टेकबहादुर शाही, प्रेम थापा र सविना बोहोरा रहेका छन्।

कार्यक्रममा निवर्तमान अध्यक्ष युवराज थकालीले नियाेकको सम्पूर्ण जिम्मेवारी तथा कागजात नवगठित समितिलाई औपचारिक रूपमा हस्तान्तरण गरेका छन्। आफू सक्रिय राजनीतिमा संलग्न रहेकाले निर्वाचन पर्यवेक्षणजस्तो संवेदनशील र स्वतन्त्र संस्थाको नेतृत्व निष्पक्ष व्यक्तिले गर्नुपर्ने मान्यताअनुसार जिम्मेवारी सुम्पिएको उनले स्पष्ट पारे।

नियाेकले विगतका निर्वाचनदेखि नै जिल्लामा स्वतन्त्र, निष्पक्ष र विश्वसनीय रूपमा निर्वाचन गतिविधिको अनुगमन तथा मूल्याङ्कन गर्दै आएको छ। निर्वाचन अवधिभर प्रशिक्षित पर्यवेक्षकमार्फत सूचनासङ्कलन, अवस्था विश्लेषण र प्रतिवेदन तयार गर्ने कार्यमा नियाेक सक्रिय रहँदै आएको छ।

कार्यक्रममा नियाेक डोल्पाका पूर्व अध्यक्षहरू बबिकिश्वर गुरुङ र युवराज थकालीले नवगठित पदाधिकारीहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउन नियाेकको भूमिका अझ प्रभावकारी हुने विश्वास व्यक्त गरे।

तपाईको प्रतिक्रिया