विष्णुप्रसाद देवकोटा
डाेल्पा ।लामो समयपछि डोल्पा जिल्लामा कृषि कार्यक्रम चयन प्रक्रियामा पारदर्शिता र सुशासनको अभ्यास सुरु भएको छ। जिल्ला कृषि विकास कार्यालय डोल्पाले स्याउ र दाँते ओखरका पकेट क्षेत्र निर्धारण तथा छनौट कार्यका लागि यस वर्ष पहिलोपटक सम्बन्धित स्थानीय तहका जनप्रतिनिधि तथा प्रमुख–उपप्रमुखको उपस्थितिमा सामूहिक छलफलमार्फत सम्पन्न गरेको हो।
यसअघि नेताको सिफारिस, कार्यालय प्रमुखको व्यक्तिगत चिनजानी र पहुँचको आधारमा कार्यक्रम वितरण हुने भन्दै आलोचना हुँदै आएको थियो। तर भदौ २३ र २४ मा भएको ‘जेनजि आन्दोलन’ पछि सरकारी कार्यालयका प्रमुखहरूमा सुशासनप्रतिको झुकाव देखिन थालेको भन्दै कार्यालयले यस्तो अभ्यासको थालनी गरेको हो।
सदरमुकाम रहेकाे ठूलोभेरी नगरपालिका क्षेत्रमा आयोजित छलफलमा नगरप्रमुख सुवर्ण बुढा, उपप्रमुख छिरिग टोल्मा महत, ११ वटै वडाका अध्यक्षहरू तथा सरोकारवालाहरूको उपस्थितिमा वडा नं ४ र ६ लाई स्याउ–ओखर पकेट क्षेत्रका रूपमा प्रारम्भिक सहमति गरिएको कार्यालय प्रमुख सरद लामाले जानकारी दिए।
यसअघि त्रिपुरासुन्दरी नगरपालिकामा पनि यस्तै प्रक्रिया अपनाइएको छ।त्रिपुरासुन्दरी नगरपालिका-११ वडा र जगदुल्ला गाउँपालिकाकाे ४ र ६ वडालाई छनाैट प्रक्रियामा लैजाने सहमति सम्बन्धित नगर र पालिकाका जनप्रतिनिधिकाे उपस्थितिमा भएकाे छलफलले गरेकाे कार्यालयले जनाएकाे छ ।
कार्यालय प्रमुख लामाका अनुसार विगतमा सीमित व्यक्तिको सहभागिता र कमजोर प्रक्रियाका कारण अपारदर्शिता, अनियमितता र प्रभावहीन कार्यान्वयनका गुनासो आउने गरेका थिए। सामूहिक निर्णय प्रक्रियाले त्यस्ता समस्यामा कमी ल्याउने विश्वास कार्यालयले व्यक्त गरेको छ।
नगरप्रमुख सुवर्ण बुढाले नयाँ प्रणालीले ‘कागजी किसान’लाई निरुत्साहित गर्दै वास्तविक किसानलाई प्राथमिकता दिने वातावरण बन्ने बताए। वडा नं। ९ का वडाअध्यक्ष सुवास कठायतले कृषि विकास कार्यालयले सुरु गरेको यस्तो नविनतम अभ्यास अन्य कार्यालयहरूले पनि अवलम्बन गर्न आवश्यक रहेको बताए ।
राजनीतिक जनप्रतिनिधि सहितकाे उपस्थितिमा गरिएकाे पहिलाे पटक गरिएकाे कृषि पकेट क्षेत्र निर्धारण तथा सहमतिय छलफल प्रति केही अगुवा किसानहरुले भने सामाजिक सन्जाल मार्फत आपत्ति जनाएका छन ।

डोल्पा न्यूज । २८ मंसिर २०८२, आईतवार १६:५६