ताजा समाचार

स्वास्थ्यदेखि समृद्धिसम्मको प्रतिबद्धता सहित काइके गाउँपालिकाको १६औँ गाउँसभा सम्पन्न

विष्णुप्रसाद देवकोटा

डाेल्पा। हिमाली जिल्ला डोल्पाको काइके गाउँपालिकाले गाउँसभाको १६औँ हिउँदे अधिवेशन सफलतापूर्वक सम्पन्न गरेको छ।गाउँपालिकाको केन्द्र शहरतारा बगरमा आइतबार सम्पन्न अधिवेशन “स्वास्थ्य, शिक्षा, सडक, कृषि तथा पूर्वाधार — काइके गाउँपालिकाको विकास र समृद्धिको आधार” भन्ने मूल नारासहित सम्पन्न भएकाे हाे ।

अधिवेशन जिल्ला समन्वय समिति डोल्पाका उप–प्रमुख तेजेन्द्र बुढाको प्रमुख आतिथ्यतामा भएको थियो। कार्यक्रममा १५औँ गाउँसभाबाट स्वीकृत नीति, कार्यक्रम तथा योजनाहरूको कार्यान्वयन अवस्थामाथि विस्तृत समीक्षा गर्दै प्रगति प्रतिवेदन प्रस्तुत गरिएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत ई. भोजराज जोशीका अनुसार अधिवेशनले आर्थिक वर्ष २०८२/८३ का लागि आवश्यक थप आयोजना तथा कार्यक्रमहरू समेत छलफलपछि पारित गरेको छ।विगतका योजनाको कार्यान्वयनलाई अझ प्रभावकारी बनाउँदै नतिजामुखी विकासमा जोड दिइने निमित्त प्रमुख प्रशासकीय अधिकृत जाेशिले बताए।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष अंगद कुमार राना मगरले कृषि, स्वास्थ्य, शिक्षा र पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर गाउँपालिकाले आफ्ना नीति तथा कार्यक्रम अघि बढाइरहेको उल्लेख गरे। उनले स्थानीय नागरिकलाई सहज, सुलभ र पारदर्शी सेवा प्रवाह गर्न जनप्रतिनिधि र कर्मचारीबीचको जिम्मेवारीबोध अझ सुदृढ हुनुपर्नेमा जोड दिए।

१६औँ हिउँदे  गाउँसभामा जिल्ला समन्वय समिति डोल्पाका उप–प्रमुख तेजेन्द्र बुढा, गाउँपालिकाका अध्यक्ष राना मगरसहित जनप्रतिनिधिहरू, विषयगत शाखा प्रमुख, कर्मचारी तथा स्थानीय काइकेबासीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया