ताजा समाचार

पुरस्कार रकमबाट सेनिटरी प्याट, सरस्वती मावि  दुनै डाेल्पामा किशोरीमैत्री पहल 

डाेल्पान्युज डेक्स

डोल्पाको सदरमुकाम दुनै बजारस्थित सरस्वती माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले जनचेतनामूलक कार्यक्रमबाट प्राप्त पुरस्कार रकम रचनात्मक कार्यमा खर्च गरेका छन ।पुरस्कार बापत प्राप्त रकमले सेनिटरी प्याट खरिद गरी विद्यालयलाई हस्तान्तरण गरेका छन्।

१६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियानको अन्तिम दिन विद्यालयमा गठन गरिएको प्रगतिशील किशोर–किशोरी क्लबले महिनावारी, बालविवाह र छुवाछुत जस्ता सामाजिक विषयमा आधारित नाटक मञ्चन गरेको थियो।

नाटकको सन्देशबाट प्रभावित दर्शकले प्रदान गरेको पुरस्कार रकममध्ये रु १ हजार २०० बराबरको ८ प्याकेट सेनिटरी प्याट खरिद गरी विद्यालयमा स्थापना गरिएको “महिनावारी स्वच्छता तथा सरसफाइ आराम कक्ष” का लागि अतिरिक्त शिक्षिका यमुना रानाभाटलाई हस्तान्तरण गरिएको हो।

विद्यालय समयमा किशोरीहरूले भोग्ने महिनावारीसम्बन्धी समस्या न्यूनीकरण गर्ने उद्देश्यले प्रस्तुत गरिएको नाटकले सुरक्षित र मर्यादित महिनावारी व्यवस्थापनबारे सन्देश प्रवाह गरेको किशोरी सशक्तीकरण परियोजना, स्याक नेपालका सामाजिक परिचालक भीमप्रसाद बुढाले बताए। उनका अनुसार बालबालिकाले आफैं पहल गरेर सामाजिक मुद्दामा संवेदनशीलता देखाउनु प्रेरणादायी अभ्यास हो।

BMZ को आर्थिक सहयोग तथा प्लान इन्टरनेशनल नेपालको साझेदारीमा स्याक नेपालद्वारा डोल्पाका ठूलीभेरी नगरपालिका र त्रिपुरासुन्दरी नगरपालिकाका विभिन्न सामुदायिक विद्यालयमा किशोरी सशक्तीकरण परियोजना सञ्चालन भइरहेको छ। यही परियोजनाअन्तर्गत किशोरीहरू महिनावारीका कारण पढाइबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यसहित विद्यालयमा “महिनावारी स्वच्छता तथा सरसफाइ आराम कक्ष” स्थापना गरिएको हो, जहाँ सुरक्षित महिनावारी शिक्षा र आवश्यक सरसफाइ सामग्रीको व्यवस्था गरिएको छ।

जनचेतनामूलक नाटकबाट संकलित रकमलाई सामाजिक हितमा प्रयोग गरी सेनिटरी प्याट हस्तान्तरण गर्नु किशोर–किशोरी क्लबको उदाहरणीय कार्य भएको सरस्वती माध्यमिक विद्यालय दुनैका प्रधानाध्यापक सत्यनारायण सिंहले बताए। पछिल्लो समय किशोर–किशोरीहरूमा एकअर्काको समस्यालाई बुझ्ने संस्कार र व्यवहारिक ज्ञान विकास हुँदै गएको उनको भनाइ छ।

उक्त “महिनावारी स्वच्छता तथा सरसफाइ आराम कक्ष” मार्फत विद्यालय समयमा महिनावारी भएका किशोरीहरूले आवश्यक प्याट तथा अन्य सरसफाइ सामग्री सहज रूपमा प्रयोग गर्दै आराम गर्न पाउने व्यवस्था गरिएको छ।

तपाईको प्रतिक्रिया